शनिबार, भाद्र २७ गते २०८३
images

"त्यो डायरी मात्र थिएन, भोगाइको अंश थियो" : किरण गजमेर

एक्सप्रेस पाना
भाद्र ६, २०७८ आइतबार
  • 249
    SHARES
  • "त्यो डायरी मात्र थिएन, भोगाइको अंश थियो" : किरण गजमेर

    सन् २०१० को एक साँझ। महिना ठ्याक्कै याद छैन भ्वाइस अफ नेपाल तेस्रो संस्करणका विजेता किरण गजमेरलाई।

    images

    आफूले त्यो बेला लगाएको हाफ पाइन्ट सम्झिँदै भन्छन्, "गर्मीको समय थियो।" झापा, खुदुनाबारीस्थित भुटानी शरणार्थी शिविरका मानिसहरू टहराबाहिर शीतल हावा खाइरहेका थिए।

    एक्कासि उनको घरतिरबाट कसैले कठिनसँग लामोलामो सास फेरिरहेको आवाज निरन्तर आयो।

    images

    गजमेर भन्छन्, "हामी पनि हतारिँदै र अत्तालिँदै कोठातिर गयौँ। हजुरआमालाई फेरि गाह्रो भएछ। उहाँ बेहोस हुनुन्थ्यो। शिविरभित्रकै स्वास्थ्य चौकी पुर्‍यायौँ।"

    उमेरले भर्खरै ५७ पुगेकी हजुरआमा नरमाया मुटुको बिरामी थिइन्। उनमा दम र मधुमेहको समस्या पनि थियो। कहिलेकाहीँ रोगले च्याप्थ्यो र साबिकको औषधोपचारपछि ठिक पनि हुन्थ्यो।

    त्यस दिन भने स्वास्थ्य चौकीमा उपचार सम्भव भएन। अस्पताल पुर्‍याउन सुझाव दिइयो। "झन्डै मध्यरात हुन लागेको थियो, न निजी सवारी साधन थियो न त ट्याक्सी नै। कसरी पुर्‍याउनु?"

    गजमेरका बुवा र काकाहरूले एम्बुलेन्स बोलाउन पटकपटक फोन गरे। कुनै सम्पर्कमा आएन त कुनैले समय लाग्ने बताए।

    "हामीले त कुरेका हौँ तर समयले कुरेन। हजुरआमा बित्नुभयो," उनले भने।

    त्यसको केही महिनापछि गजमेर परिवारले नेपाल छोड्यो।


    संयुक्त राष्ट्रसङ्घले सन् २००६ मा भुटानी शरणार्थीका लागि तेस्रो मुलुक पुनर्वास कार्यक्रम सुरु गरेको थियो। झन्डै एक लाख मानिस अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोप पुगे। गजमेर परिवारको पालो २०११ मा आयो। उनीहरू अमेरिका गए।

    गजमेर अमेरिका धेरैका लागि सपनाको देश भए पनि आफ्ना लागि बाध्यताको देश भएको सुनाउँछन्।

    उनी भन्छन्, "हाम्रो सपना त नेपाली भएर बाँच्न पाउनु थियो। बोलिरहेको भाषा, टेकिरहेको माटो, बाँचिरहेको समाज र संस्कारलाई आफ्नो भन्न पाउँ भन्ने थियो। तर नेपालको कानुनले हामीलाई नेपाली मानेन।"

    अमेरिका पुगेपछि कष्ट र अभावबाट उनीहरू पर पुगे। जीवनशैली केही सहज बन्यो। मट्टितेल सकिएपछि गृहकार्य आधामै छाड्नु पर्ने भय बाँकी रहेन।बाध्यताले नेपाल छोड्नु पर्‍यो।

    "हामी अँध्यारोबाट उज्यालोमा पुग्यौँ तर मेरी हजुरआमाले सहज जीवन भोग्न पाउनु भएन। उहाँलाई समयमा अस्पताल पुर्‍याउन सकेको भए सायद त्यसो हुने थिएन। बचाउन नसक्नुको थकथकी सधैँ रहिरह्यो।"

    अहिले त गजमेर स्वयं मिसौरीको वेब्स्टर विश्वविद्यालयमा स्वासप्रस्वाससम्बन्धी विषय पढ्दै छन्।

    आफ्नी हजुरआमालाई जस्तै श्वासप्रश्वासमा अप्ठ्यारो भएका बिरामीहरूलाई सेवा पुर्‍याउने उद्देश्य राखेका गजमेरले सधैँ सोचिरहे, "कुनै दिन नेपाल गएँ भने आम मानिसको उपचारकै लागि सहयोग गर्छु।"

    यसरी पूरा भयो सपना

    अगस्ट ७ मा किरण गजमेर 'द भ्वाइस अफ नेपाल' तेस्रो संस्करणको विजेता घोषित भए। पुरस्कार स्वरूप प्राप्त गरेको २५ लाख रुपैयाँमा रकम थप गरेर शरणार्थी शिविरका लागि एम्बुलेन्स किनिदिने र कोरोनाभाइरसविरुद्धको खोप लगाउनबाट वञ्चितहरूलाई सहयोग गर्ने घोषणा गरे।

    उपाधि हातमा लिएर उनले भनेका थिए, "मलाई मेरो परिवारले फेरि काखमा राख्यो। मेरो लागि नेपालको नागरिकता यही हो।"

    आफ्नो अभिव्यक्तिबारे उनले बीबीसीसँग भने, "त्यो अभिव्यक्ति मेरो मात्र नभई समग्र नेपालीभाषी भुटानी शरणार्थीहरूको हो जसले वर्षौँ नेपाली भाषा, संस्कृति, कला र साहित्यलाई आफ्नो बनाए तर नेपालको बन्न पाएनन्। अझै पनि हजारौँ भुटानी शरणार्थी हुनहुन्छ जो नेपाली भएर नेपालमै बाँच्न चाहनुहुन्छ।"

    नेपालस्थित शिविरमै जन्मिएका उनले देशप्रतिको प्रेम र नेपालीभाषी हुनुको खुसी अभिव्यक्त गरेको बताए। उनको सपनालाई नेपाली सङ्गीतले आकार दिएको थियो जसको लगाव खुदुनाबारी शिविरमै हुँदा बसेको थियो।

    हजुरबुवाले काखमा राखेर सिकाएको सङ्गीत

    गजमेरका हजुरबुवा आइमान पुजारी थिए। त्यसैले उनको घरमा बिहान बेलुका भजन कीर्तन हुन्थ्यो। उनी कहिलेकाहीँ हजुरबुवाको पछि लागेर सत्सङ्गहरूमा पनि जाने गर्थे।

    त्यहाँको साङ्गीतिक माहौलले आफूलाई आकर्षित गर्ने र घर फर्किएपछि ती भजन गाउन सुर कस्ने उनी बताउँछन्। हजुरबुवाले कहाँ के मिलेन औँल्याइदिन्थे।

    हजुरबुवाले भुटान छँदै मादल बनाउन र बजाउन सिकेका थिए। आफ्नो रहर पूरा गरिदिन हजुरबुवाले काखमै राखेर मादल बजाउन सिकाएको उनलाई हिजैजस्तो लाग्छ।

    गजमेर भन्छन्, "हजुरबुवाले नै हो ममा सङ्गीतको रस भरिदिनु भएको।"

    बिस्तारै विद्यालयमा हुने कार्यक्रमहरूमा उनको आवाज गुञ्जन थाल्यो। शिक्षकहरूले कहिले कापीकलम दिएर गाउन लगाए त कहिले मिठाइ दिएर हौस्याए।

    किरण छ वर्षकै हुँदा भुटानी शरणार्थी बाल मञ्चले गायन प्रतिभा भएका बालबालिकाहरूका लागि अवसर ल्यायो - साङ्गीतिक एल्बम 'बाल कोसेली'।

    त्यसमा गीत गाउने सात वटा शिविरका एकएक जना बालबालिकामध्ये एक थिए किरण गजमेर।

    बाल कोसेली भाग २ का लागि पनि उनको छनौट भयो। त्यसपछिको उनको गायन यात्रा शिविर र विद्यालयका कार्यक्रमहरूमा मात्र सीमित रहेन। शिविर बाहिरको कला- साहित्यमा सक्रिय मानिसहरू भेटे। सिर्जनात्मक मानिसहरूसँगको सङ्गतले बुझायो, 'गाउनु रहर वा मनोरञ्जनको मात्र होइन अभिव्यक्तिको पनि बलियो माध्यम रहेछ।' त्यसपछि उनले गीत लेख्न समेत थाले।

    "मेरो भोगाइ पनि गीत या कविता बन्न सक्छ भन्ने थाहा पाएदेखि लेख्न थालेँ। मसँग सुनिदिने कोही नहुँदा डायरी सधैँ सँगै भयो, त्यसमा निर्धक्क आफैलाई पोख्न सकेँ।"

    देश खोज्दै हिँड्दा

    अमेरिका पुगेपछि गजमेरको लेखन र साङ्गीतिक यात्रा केही धीमा भयो।

    त्यस समय उनको ठूलो परिवारमा अन्यौलता थियो। बुवाको पाँच जना दाजुभाइमध्ये कोही नेपाल छाड्ने पक्षमा थिए भने कोही नेपालमै मर्ने तर्क राख्थे। कारण थियो - भुटानबाट उनीहरू देश खोज्दै नेपाल आएका थिए।

    "नेपालसँग हामी भाषाका कारण जोडिएका थियौँ। हामीले बोलेको बुझ्ने र सुनिदिने मानिस थिए जसका कारण अपनत्व ज्यादा भयो," उनले विदेश जान नचाहनुको कारण बताए।

    "बोल्नै नजाने अर्काको देशमा बाँच्न पनि सकिँदैन होला भन्ने डर थियो।"

    उनका चार जना काकाहरू भिन्नै बस्न थालेका थिए। बाँसले बेरेर बाँसैले छाएको टहराको दुई वटा कोठा पाँच वटा भइसकेको थियो। आफ्नै घर साँघुरिएको थियो र बार्नका लागि ठाउँ बाँकी थिएन।

    उनको परिवारले नेपाल छोड्ने निधो गर्‍यो।

    "पहिचान र जीवनमध्ये एउटा छान्नु थियो। अभावको चरम रूप देखेकाले होला बाबुआमाले हाम्रो लागि भए पनि अमेरिका रोज्नु भयो।"

    जीवनको पहिलो उडान

    शिविरबाट मानिस निस्किनु, वरपर सबैका आँखा भरिनु, भाँडाकुँडा, गाईबस्तु मन खाएको छिमेकीलाई जिम्मा लगाउनु नियमित प्रक्रिया बनिसकेको थियो। शिविरका बालबालिका आफूले हवाईजहाज चढ्न कति दिन बाँकी भन्ने हिसाब गर्थे।

    हवाईजहाज चढ्ने मिति तय हुँदा गजमेर १४ वर्षका थिए। त्यसैले खुदुनाबारीबाट गाडी चढेर निस्किँदा र उनको आँखामा आँसु होइन मनमा उत्साह थियो, आकाशबाट तल हेर्ने।

    "काठमाण्डू ल्याएर चार दिन राखियो। जहाँ बसेका थियौँ त्यहाँबाट विमानस्थल पुग्दा पो आफ्नो जन्मभूमि छाड्दै छु भन्ने कुराले पिरोल्यो। पहिलो पटक उड्दै थिएँ, नफर्कने गरी। भक्कानिएर रोएँ। प्लेनबाट तल हेर्ने होसै भएन। यात्राभर निदाएछु।"

    नेपालमा किरण हुर्किएको टहरा छुट्यो, सँगै हुर्किएका साथीहरू छुटे, भाइ र उनले मिलेर हुर्काएको सुपारीको बोट छुट्यो, उनलाई लेख्न र गाउन हौसाउने सिङ्गो समूह छुट्यो।

    यो सबैलाई नियति मानेर स्वीकारेका थिए। "थकथकी त तब भयो जब बिरानो ठाउँमा पुगेर झोला खोल्दा थाहा पाएँ त्यो डायरी छुटेछ," उनी भन्छन्।

    "त्यो डायरी मात्र थिएन, भोगाइको अंश थियो। करोडौँ कमाए पनि त्यो पाउँदैन थिएँ। साह्रै मन दुख्यो।'

    उनले मनमनै अठोट गरे, कुनै दिन नेपाल जान्छु र डायरी ल्याउँछु।

    बाटोहरू गोरेटो बनेछन्

    मेडिकल शिक्षा सुरु गरेपछि पढाइमै व्यस्त गजमेरलाई अमेरिकामै रहेका नेपालीभाषी भुटानीहरूले सङ्गीतसँग नजिक हुन झकझकाए।

    समुदायको प्रतिनिधि बनेर 'भ्वाइस अफ नेपाल'मा सहभागी हुनका लागि आग्रह थियो। सङ्गीत जन्मभूमिसम्म डोर्‍याउने माध्यम बन्ने भयो र उत्साहका साथ तयारी थाले।

    सन् २०२१ को फेब्रुअरीमा उनका हजुरबुवाको निधन भयो। पीडाले थलाएको थियो उनलाई।

    "सुरुमा त नेपाल जाने कि नजाने निधो गर्न गाह्रो भयो किनकि भावनात्मक अनि मानसिक रूपमा कमजोर भएको थिएँ," उनी सुनाउँछन्।

    "पछि लाग्यो हजुरबुवा नरहे पनि उहाँबाट जे सिके त्यसलाई सार्थकता दिन भए पनि म जानुपर्छ।"

    पढाइ ठप्प पारेर नेपाल आए। गीत गाए। निर्णायक अनि श्रोताको मन जिते, भोट पाए र अन्ततः उपाधि पनि जिते।

    "यति ठूलो रियालिटी शोमा सहभागी नेपाली सङ्गीतप्रतिको प्रेम पर्याप्त भयो, नागरिकता चाहिएन। खुसी लागेको छ विश्वभरका नेपालीले गाँस कटाएर भोट गरिदिनु भएकोमा।"

    जितपछिको उत्सव मनाउन आफू जन्मिएर हुर्किएको ठाउँ पुगे उनी। गाडीबाट ओर्लँदा आँखाले जे खोज्यो त्यो पाएनन्। शिविर जङ्गल बनेछ। घरहरूको बाक्लो बस्ती पातलिएछ। उनीहरू हिँड्ने बाटो खुट्टाउनै मुस्किल पर्ने गरी गोरेटो बनेछ।

    छिमेकीहरूको मुहार भने हाँसोले नै ठम्याउन सके धेरैलाई। उनी भन्छन्, "आफ्नोपन त आँखादेखि अङ्गालोसम्मै महसुस हुँदो रहेछ।"

    "घर अगाडिको हर्रोको रुख र घर पछाडि आफैले रोपेको सुपारीको रुख देखेँ तर घर देखिनँ। घर र घरभित्र छुटेको डायरी रहेन तर त्यहाँ बिताएका र भोगेका क्षण झलझली सम्झिएँ। डायरीसँगै मेरा केही थान शब्द त हराए तर अनुभूति स्मृतिबाट नामेट हुन मुस्किल रहेछ। ती भोगाइ फेरि लेख्नेछु।"

    सपना बोकेर आए, अठोट बोकेर फर्कँदै छन्
    किरण गजमेरहरू भुटानबाट नेपाल र नेपालबाट अन्य देशहरू पुग्दा आफ्नो पहिचान कतै छुटेको महसुस गर्छन्। तर जहाँ पुगे पनि नेपालीत्व जोगाउन आफूहरूले कुनै कसर बाँकी नराखेको दाबी गर्छन् उनी।

    उनी नेपाली भाषा, संस्कृति, कला र साहित्य आफू अनि आफ्नो पुस्ताहरूमा हस्तान्तरण गर्न लागि परेकाहरूको प्रतिनिधि हुन्।

    १० वर्षपछिको नेपाल यात्राले उनलाई उपाधि बाहेक के दियो त?

    भ्वाइस अफ नेपाल विजेता किरण गजमेर भन्छन्: ‘भुटानी शरणार्थी हुँ भन्दा गर्व लाग्छ’

    'तँ भुटानी शरणार्थी होस्' भन्ने 'ट्याग'ले गरेको विभेद र दिएको चोट मेट्नका लागि पनि यो यात्राले महत्त्व राखेको उनी बताउँछन्।

    अब बीचमा छाडेको सङ्गीतलाई निरन्तरता दिने अठोट बोकेर उनी पुनः अमेरिका फर्कनेछन्।

    "देश भनेको पहिचान हो। त्यो पहिचान मलाई 'भ्वाइस अफ नेपाल'को उपाधिले दिलायो। सङ्गीत सम्बन्ध र संवेदनाहरूबीचको सेतु हो। अब म नेपाल र नेपालीसँगको सम्बन्धको सेतु बलियो बनाउन पनि निरन्तर सङ्गीत साधनामा लाग्नेछु।"

    कला, सङ्गीत र सिर्जनाले आफूलाई सदैव नेपाली हुनुको पहिचान दिने गजमेर बताउँछन्। त्यही सन्देश भ्वाइस अफ नेपालको फाइलनमा मन्त्र ब्यान्डको गीत गाएर दिएका थिए:

    'कसैले भन्ला तिमीलाई कतै त्यो होइन तिम्रो देश,

    भन्दिनु उसलाई जहाँ म हुनेछु, त्यहीँ हो मेरो देश।'
    -- बीबीसी