बुधबार, कार्तिक १९ गते २०८३
images
images

नागरिकता विधेयकमा संविधानको पालना हुन सकेन : ऊर्जामन्त्री भुसाल

एक्सप्रेस पाना
आश्विन ८, २०७९ शनिबार
  • 203
    SHARES
  • नागरिकता विधेयकमा संविधानको पालना हुन सकेन : ऊर्जामन्त्री भुसाल

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘सेरेमोनियल’ राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुईपटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगर्दा उहाँबाट संविधानको पालना हुन नसकेको बताउनुभएको छ । मध्यपुरथिमिमा शङ्खधर बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभामा आज उहाँले संवैधानिक राष्ट्रपतिले संसद्बाट पुनः पारित गरी पठाएको विधेयक प्रमाणीकरण गर्नुपर्ने धारणा  राख्नुभयो । 

    images

    मन्त्री भुसालले भन्नुभयो, “नेपालको संविधानले राष्ट्रपति संस्थालाई निर्णय गर्ने र गल्ती गर्ने अधिकार दिएको छैन, राष्ट्रपतिले दुईपटक संसद् भङ्ग गरेर र अहिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर तीनपटक देशलाई गम्भीर सङ्कटतर्फ धकेल्नुभएको छ ।” मङ्सिर ४ गतेको निर्वाचन रोकेर देशलाई सङ्कटतर्फ धकेल्न त खोजिएको होइन भन्ने आशङ्का पैदा भएको भन्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सचेत हुने बेला आएको बताउनुभयो । विगतमै भएको निर्णय र संविधानले नै परिकल्पना गरेअनुरुप नै आएको नागरिकता विधेयक दुवै संसद्बाट पारित गरेको भन्दै मन्त्री भुसालले नागरिकता विधेयकका विषयमा भ्रममा नपर्न आग्रह गर्नुभयो ।

    संविधानअनुसार पहिलेका सरकारले ल्याएका विधेयक र अध्यादेशमै समेटिएका विषयलाई दुवै संसद्ले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरेर भ्रम फैलाउन खोजिरहेको भन्दै उहाँले राष्ट्रपति जस्तो सम्मानित संस्थाले जनताको आकांक्षालाई पूरा गर्नुपर्नेमा जोड दिनुभयो । नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन हुँदा स्कुल–कलेज पढ्न, बैंकमा खाता खोल्न, मोबाइलको सिम लिन, पासपोर्ट बनाउन नपाउँदा बिचल्लीमा परेको मन्त्री भुसालको भनाइ छ । 

    images

    उहाँले भन्नुभयो, “सायद पहिलो चोटी भएर हो कि, अज्ञानताले हो कि, अथवा अरु कुनै दबाब वा निहीत स्वार्थले हो राष्ट्रपतिबाट गलत भएको छ, अब फेरि कुनै राजनीतिक दुर्घटना नहोस् भन्नका लागि परिवर्तनमा लाग्ने सबै राजनीतिक दल, नागरिक समाज, नागरिक समाजका अगुवा, बुद्धिजीवी, सचेत नागरिक, सबैले चनाखो भएर सचेत हुने बेला आएको छ ।”

    कार्यक्रममा उहाँले घरको भान्छामा इन्डक्सन चुल्हो बाल्नुस्, विदेशी ग्यास हटाउनुस् भन्दै इन्डक्सन चुल्हो बाल्न प्रेरित गर्न घरेलु उपभोक्ताका लागि विद्युत् महसुल घटाएको बताउनुभयो । “सहकारीले आफ्ना सदस्यलाई बोनस होइन, इन्डक्सन चुल्हो दिनुहोस्, एलपी ग्यासभन्दा इन्डक्स चुल्हो बाल्न ५० प्रतिशत सस्तो पर्छ, यो आफ्नै देशको हो, यसले व्यापार घाटा कम गर्छ”, मन्त्री भुसालले भन्नुभयो, “यातायातका साधन पनि विद्युतीय नै चढौँ, महँगो पेट्रोल खर्चनु पर्दैन ।”

    उहाँले स्थानीय तहलाई उज्यालो नगर बनाउन आह्वान गर्दै सडक, नगर, सम्पदा क्षेत्र सबै क्षेत्रलाई उज्यालो बनाउन मन्त्रालयले ५० प्रतिशत व्यहोर्ने गरी अनुदानको व्यवस्था गरेको बताउनुभयो । मन्त्री भुसालले मध्यपुरथिमिलाई पनि उज्यालो नगर बनाउन आह्वान गर्दै त्यसमा लाग्ने खर्चको ५० प्रतिशत मन्त्रालयले व्यहोर्ने र ५० प्रतिशत सम्बन्धित पालिकाले व्यहोर्नुपर्ने बताउनुभयो । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, संस्थाका अध्यक्ष रामसुन्दर श्रेष्ठलगायतले सहकारी संस्थाले जनताको विश्वासलाई मर्न दिन नहुनेमा जोड दिनुभयो ।