बुधबार, कार्तिक १९ गते २०८३
images
images

पैसा बाँडेको आरोपमा एमालेका प्रदेशसभा उम्मेदवार पक्राउ

एक्सप्रेस पाना
मंसिर ३, २०७९ शनिबार
  • 153
    SHARES
  • पैसा बाँडेको आरोपमा एमालेका प्रदेशसभा उम्मेदवार पक्राउ

    काठमाडौं । नेकपा (एमाले) का प्रदेशसभा उमेदवार दिपक निरौलासहित तीन जनालाई पैसा बाँडेको आरोपमा पक्राउ परेका छन् ।

    images

    शुक्रबार साँझ मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उमेदवार दीपक निरौलासहित तीनजनालाई पक्राउ गरेको हो । 

    पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–६ का वडाध्यक्ष रवि खड्का र एमालेको बुढानीलकण्ठ नगरपालिकाका अध्यक्ष प्रदीप डंगोल छन् । 

    images

    उनीहरू हात्तिगौंडास्थित युरो स्कुल नजिकैबाट पक्राउ परेका हुन् । उनीहरुले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो । 

    काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् । 

    पक्राउ परेका तीन जनालाई हाल प्रहरी प्रभाग बूढानीलकण्ठमा राखिएको छ । 

    शुक्रबार राति नै कांग्रेस र स्वतन्त्र उम्मेदवारका समर्थक तथा कार्यकर्ता वृत्तमा पुगेर दोषीमाथि कडा कारबाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् ।

    पक्राउ परेकाहरुलाई सर्जिमिन गरेर निर्वाचन कार्यालयलाई बुझाउने प्रहरीले जनाएको छ । 

    हारको मानसिकताले चरित्रहत्या गर्न रचिएको योजनाबद्ध घटना- एमाले

    काठमाडौं–५ को निर्वाचन परिचालन कमिटीले प्रदेशसभा उमेदवार पक्राउ प्रकरण हारको मानसिकताले चरित्रहत्या गर्न रचिएको योजनाबद्ध घटना भएको प्रष्टीकरण दिएको छ । 

    कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेकपा (एमाले) काठमाडौंका अध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ (२) का प्रदेशसभा सदस्यका उमेदवार दीपक निरौला, बूढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोल आज साँझ बूढानीलकण्ठमा लामो समयदेखि क्यान्सर रोगबाट पीडित पार्टीका शुभेच्छुक तोक्तान लामाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गएको बेला राज्य संयन्त्रको दुरुपयोग गर्दै प्रहरी बोलाउने र पैसा बाँडेको भनी बदनाम गराउने जस्ता घृणित कार्य गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”

    पार्टी शुभेच्छुकसमेत रहेका आफ्नै छिमेकीलाई भेट्न जाँदा गरिएको त्यस्तो हर्कतको भत्र्सना गर्ने विज्ञप्तिमा उल्लेख छ । साथै, विज्ञप्तिमार्फत एमालेले प्रहरी प्रशासनको समेत दुरुपयोग गरिएकोमा यसको छानबिन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । 

    “कुनै तथ्य प्रमाणबिना गैरराजनीतिक कुरा गरी चरित्र हत्या गर्ने र चुनावी माहोल अन्तै मोड्ने हिसाबले यस घटना गरिएको छर्लंङ्ग छ । हामी आरोप लगाउनेहरुलाई पुष्टि गर्ने सबुद प्रमाण भए सप्रमाण आउन चुनौती दिन चाहन्छौं,” विज्ञप्तिमा भनिएको छ, “साथै, यस्ता घृणित, अराजनीतिक र हारको मानसिकताले चरित्रहत्या गर्न रचिएको योजनाबद्ध घटनाबाट प्रभावित नहुन समस्त मतदाता, शुभचिन्तक र पार्टी कार्यकर्ताहरुमा अपील गर्न चाहन्छौं ।”