हेटौँडा । कुनै समय थियो, मकवानपुरको राजनीतिमा नेकपा एमाले र राप्रपा प्रतिस्पर्धी शक्ति थिए । २०४८ को आम निर्वाचनमा मकवानपुर १ बाट एमाले विजयी हुँदा निकटतम प्रतिस्पर्धी बनेका तत्कालिन राप्रपाका नेता कमल थापा २०५१ मा भएको मध्यावदी निर्वाचनमा विजयी हुँदै राप्रपालाई मकवानपुरमा स्थापित गर्न सफल बने ।
तत्कालिन मकवानपुरको ४३ गाविसमा हुने निर्वाचनमा प्रमुख प्रतिस्पर्धा एमाले र राप्रपाबिचनै हुने गर्दथ्यो । तर २०५१ पछि राप्रपाले मकवानपुरमा आफुलाई बलियो कायम राखिराख्न सकेन । राप्रपामा देखिएको टुटफुट, सत्ता केन्द्रीत राजनीति र राप्रपा मकवानपुरमा कमल थापा बाहेक अन्य नेताको उदय नहुने समस्याले २०६४ सालसम्म आईपुग्दा राप्रपाको अस्तित्व करिब सकिएको अवस्थामा पुगेको थियो ।
२०७० को दोश्रो संविधानसभाको निर्वाचनमा हेटौँडा नगर पर्ने संविधानसभा क्षेत्रमा राप्रपाले प्रमुख प्रतिपक्ष दलको रुपमा ‘कमब्याक’ गरेपछि दिपक सिंहलाई मकवानपुरको राप्रपामा कमल थापा पछिको प्रभावशाली नेताको रुपमा ब्याख्य गर्न थालियो । तर कमल थापाको छायाँको रुपमा उनले सधै थापालाई सहयोग गर्दै आए ।
२०७० देखि २०७९ बिचको ९ वर्षमा राप्रपामा टुटफुट तथा सत्ताको लागि मरिमेटने प्रबृत्ति मौलाउँदै गयो । कहिले फुटने, कहिले मिल्ने कामले राप्रपा कार्यकर्ता दिक्क बन्दै गएका थिए । फलस्वरुप २०७४ सालको निर्वाचनमा राप्रपाले मकवानपुरमा कुनै जादु देखाउन सकेन । तत्कालिन राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली कांग्रेसँग मिलेर मकवानपुर–१ बाट निर्वाचन लडे । तर उनका सदाबार प्रतिस्पर्धी एमालेका कृष्णप्रसाद दाहालले उनलाई पराजित गर्दै राप्रपाको अवस्था थप नाजुक बनाईदिए ।
त्यसपछि राप्रपामा भएको विवादबिच काठमाण्डौँमा सम्पन्न एकता महाधिवेशनबाट अप्रत्यासित रुपमा झापाका राजेन्द्र लिङ्देनसँग थापा पराजित भए । राप्रपाको सधै नेतृत्वमा रहेका थापालाई आफ्नै कार्यकर्ताले अध्यक्षमा पराजित गरेपछि उनले राप्रपा नेपाल स्थापना गरे । तर यो पटक मकवानपुरका राप्रपाले उनलाई साथ दिएनन् । उनको सधै साथ रहने दिपकबहादुर सिंह देखि मकवानपुरका अधिकांश पुराना कार्यकर्ताहरु थापाबाट टाढिए । कमल थापासँग अलग भएपछि राप्रपा मकवानपुरमा दिपकबहादुर सिंह हाबी भए । उनले स्थानीय तह–२०७९ मा हेटौँडा उपमहानगरपालिकाको मेयरमा निर्वाचन लडे र २० हजार बढी मत प्राप्त गर्दै मकवानपुरमा राप्रपा पुनः फर्कन खोजेको सन्देश दिए ।
स्थानीय निर्वाचन सम्पन्न भएको करिब ६ महिनापछि सम्पन्न आम निर्वाचन–२०७९ मा उनै सिंह मकवानपुरको क्षेत्र नंबर १ बाट बिजयी बन्दै २८ वर्षपछि मकवानपुरमा राप्रपाको जित दर्ता गरे । उनको जित राप्रपाको लागि मकवानपुरमा सञ्जिवनी बनेको छ । उनले माओवादी र कांग्रेस मिलेर बनेको गठवन्धनकी प्रभावशाली नेतृ तथा कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्यय डिनालाई मात्र पराजित गरेनन्, आफ्नो राजनीतिक गुरु तथा एमालेसँग मिलेर एमालेकै चुनाव चिन्हबाट प्रतिस्पर्धामा उत्रिएका कमल थापालाई पनि हराईदिए ।
यो पटक दिपक सिंह आफुमात्र जितेनन् । मकवानपुरको दुईवटा प्रदेश तहमा पनि राप्रपालाई बलियो शक्तिको रुपमा रहेको सन्देश दिन सफल बने । प्रतिनिधिसभा क्षेत्र नंबर १ को ‘क’ तथा ‘ख’ मा राप्रपाले उल्लेख्य मत ल्याएपछि मकवानपुरे राजनीतिमा राप्रपाले पुनः आफुलाई जिवित तुल्याउने काम गर्न सफल बनेको छ ।
.jpg)


