काठमाडौं । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना आजसम्ममा सम्पन्न गरिने निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षतर्फको मतगणना हिजै सकिएको छ ।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ । सो प्रणालीतर्फ अब स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको केही मतगणना हुन बाँकी रहेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।
मतगणनाको परिणाम आइसकेपछि आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम सिफारिसका लागि आयोगले दलहरूलाई पत्राचार गर्नेछ । सोका लागि दलहरूले प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिन समय पाउनेछन् ।
निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत एक करोड नौ लाख ७३ हजार २७ मत खसेको जनाइएको थियो ।
मंगलबार बिहानसम्म एक करोड चार लाख ७८ हजार ७३५९ मतगणना भएको छ । जसमा नेकपा (एमाले) अग्रस्थानमा छ । उसले २८ लाख १४ हजार ६५५ मत मत पाएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रसले २६ लाख ८८ हजार २१८ मत पाएको छ । तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६४ हजार १०२ मत पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६ मत पाएको छ । सिके राउतको जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९५४ मत पाएको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले भने २ लाख ९६ हजार ९० मत मात्र पाएको छ ।
.jpg)


