बुधबार, कार्तिक १९ गते २०८३
images
images

महाकाली घटना बारे गृहको परराष्ट्रलाई पत्र

एक्सप्रेस पाना
मंसिर २०, २०७९ मंगलबार
  • 195
    SHARES
  • महाकाली घटना बारे गृहको परराष्ट्रलाई पत्र

    काठमाडौँ । दार्चुलाको सदरमुकाम खलङ्गाको पारीपट्टी महाकाली नदीको धार फर्किने गरी एकतर्फीरुपमा तटबन्ध निर्माणको विषयमा नेपाल सरकारले भारतलाई कुटनीतिक नोट पठाउने तयारी गरेको छ ।

    images

    गृहमन्त्रालयले यस सम्बन्धमा परराष्ट्र मन्त्रालयलाई सोमबार नै रिपोर्ट पठाइसकेपछि अब भारतलाई कुटनीतिक नोट पठाउने तयारी गरिएको हो ।

    यस विषयमा आइतबार दुवै पक्षबीच ढुंगा हानाहान समेत भएको थियो । सो झडपपछि सोमबार दुई देशका अधिकारीबीच छलफल समेत भएको छ । भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच जिल्ला प्रशासन कार्यालय दार्चुलामा सोमबार छलफल भएको हो ।

    images

    आइतबार नेपाल–भारतका स्थानीयबीच तटबन्धको विषयलाई लिएर दोहोरो ढुङ्गामुढा भएको थियो । ढुङ्गामुढा प्रहार भएपछि दुवै देशका आधा दर्जनभन्दा बढी नागरिक घाइते भएका थिए । सीमामा भारत पक्षले एकतर्फी महाकाली नदीको धार फर्किने गरी तटबन्ध निर्माण कार्य सुरु गरेपछि नेपालतर्फ खलङ्गाका स्थानीयहरूले आइतबार चर्को विरोध गरेका थिए ।

    सीमा तटबन्धकै विषयमा केन्द्रित रहेर अधिकारीहरूबीच छलफल भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । छलफलमा दार्चुलाका प्रअजिअ उपाध्यायले तटबन्ध निर्माण गर्दा दुवै देशलाई कुनै हानिनोक्सानी हुने गरी काम नगर्न आग्रह गरे । 

    छलफलमा विवाद भएको ठाउँमा तत्काल तटबन्ध निर्माण नगर्ने र विवाद नभएको ठाउँमा मात्र निर्माण गरिने सहमति भएको सहायक प्रजिअ हेमन्ती साउदले बताए । भारतीय पक्षबाट एडिएम र एसडिम उपस्थित भएका थिए भने नेपालका तर्फबाट सुरक्षा निकायका प्रमुखहरू राजनीतिक दलका पदाधिकारीहरूसमेत उपस्थिति रहेको थियो । 

    भारतीय पक्षले तटबन्ध निर्माण गर्दा निर्माणाधीन तटबन्धभन्दा सातदेखि १० मिटरयता नेपालतिर ग्याविन जाली लगाएको छ । सो ग्याविन जाली तत्काल हटाइदिन भारतीय अधिकारीलाई प्रजिअले आग्रह गरेका थिए । भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ ।

    नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भएका थिए । स्थानीयवासीले तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग राखेका छन् ।