काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् । देउवाले महामन्त्री गगन थापालाई पराजित गर्दै संसदीय दलको नेतामा विजयी भएका हुन् ।
८९ मत रहेको कांग्रेस संसदीय दलमा देउवाले ६४ मत पाए भने थापाले २५ मत मात्र पाएका छन् । बुधबार बिहान सम्पन्न मतदानमा सबै ८९ मत खसेको थियो ।
कांग्रेसका ८८ सांसदले सिंहदरबार स्थित कांग्रेस संसदीय दलबाट मतदान गरेका थिए भने सुत्केरी भएर अस्पतालमा रहेकी एक सांसद माया राइलाई निर्वाचन समितिका कमर्चारी अस्पतालमै पुगेर मतदान गराएका थिए ।
यस अघि पाँचौं पटक प्रधानमन्त्री बनिसकेका कांग्रेसका सभापति शेरबहादुर देउवा योसहित छैठौ पटक संसदीय दलको नेता निर्वाचित भएका छन् ।
देउवाको संसदीय दलको नेताको यात्रा:
- २०५१ सालमा सर्वसम्मत संसदीय दलको नेता चयन ।
- २०५६ सालमा गिरिजाप्रसाद कोइरालासँग संसदीय दलको नेतामा पराजित
- २०५८ सालमा सुशील कोइरालालाई पराजित गर्दै संसदीय दलको नेतामा दोस्रो पटक निर्वाचित ।
- २०६३ सालमा विजय गच्छदारलाई पराजित गर्दै कांग्रेस प्रजातान्त्रिकको संसदीय दलको नेता निर्वाचित ।
- २०६४ सालको पहिलो संबिधान सभाको निर्वाचनपछि रामचन्द्र पौडेललाई पराजित गर्दै संसदीय दलको नेतामा विजयी ।
- २०७० को दोस्रो संबिधान सभा निर्वाचनपछि शुशील कोइरालासँग संसदीय दलको नेतामा पराजित ।
- २०७४ प्रकाशमान सिंहलाई पराजित गर्दै संसदीय दलको नेतामा विजयी ।
-२०७९ गगन थापालाई पराजित गर्दै संसदीय दलको नेतामा विजयी
.jpg)


