काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेपछि अब एमालेको ध्यान राष्ट्रपति र सभामुखमा आफ्नो दलका नेता चयन गर्नेमा रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएका छन् । त्यसअघि सत्ता साझेदार दलको न्युनतम साझा कार्यक्रम सार्बजनिक हुने र राप्रपा सरकारमा जाने तयारी रहेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन आफ्नै नेतृत्वमा सरकारमा जाने तयारीमा रहेका छन् ।
यता अहिलेको सरकार निर्माणको किङमेकर रहेको एमाले भने प्रमुख संबैधानिक पदमा आफ्नो दललाई स्थापित गर्न केन्द्रित रहेको छ । पछिल्लो राजनीतिक घटनाक्रममा राष्ट्रपति र सभामुखको भूमिका महत्वपूर्ण देखिएकोले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु नजिकका नेताहरुलाई नै यी पदमा पुर्याउने अनुमान गरिएको छ ।
ओलीले यी पदमा कसलाई लैजान्छन् भन्ने अहिले नै स्पष्ट भएको छैन । एकीकृत समाजवादीलाई एमालेसँग एकीकरण गराएर माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने चर्चा केहि दिन भएपनि अहिले यो विषय एमालेकै दोस्रो तहका नेताहरुले खारेज गरेका छन् । तर ओली आफैले भने नत यो विषयमा बोलेका छन् नत खारेज नै गरेका छन् ।
त्यस्तै एमाले भित्र अहिले केहि नेताहरुलाई राष्ट्रपति र सभामुखका प्रमुख दाबेदार नेताहरुको रुपमा हेरिएको छ ।
एमाले र माओवादीबीच २०७४ कै जस्तो मोडलमा राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमति भएको छ भने सभामुख पद प्रधानमन्त्रीसँगै आलोपालो गर्ने सैद्धान्तिक सहमति जुटेको छ ।
एमाले भित्र अहिले राष्ट्रपतिका लागि सम्भावित नेताहरुको रुपमा सबै भन्दा बढी चर्चा उपाध्यक्ष सुवास नेम्वाङको रहेको छ । नेम्वाङले यस अघि सभामुखको भूमिका लामो समय निभाएकोले पनि अहिले राष्ट्रपतिका लागि उनको चर्चा भएको छ । उनी आफैले पनि राष्ट्रपतिका लागि चासो दिएका छन् । तर उनको नामको अन्तिम निर्णय अध्यक्ष ओलीले नै गर्ने छन् ।
त्यस्तै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नाम पनि अर्को दाबेदारको रुपमा आएको छ । समकालीन राजनीतिमा शाक्य अनुभवी नेता हुन् । उनले निर्वाचन पनि नलडेको र गत वर्ष एमाले विभाजन हुँदा ओलीलाई साथ दिएकी हुनाले पनि ओलीले उनलाई राष्ट्रपति बनाउन सक्ने अनुमान एकथरीको रहेको छ । त्यस्तै एमाले भित्र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई राष्ट्रपति बनाउनु पर्ने आवाज पनि उठिरहेका छन् । यस बाहेक एमाले अनुशासन आयोगका अध्यक्ष रहेका अमृतकुमार बोहोराको नाम पनि चर्चामा रहेको छ ।
कस्तो छ राष्ट्रपति पदको मतभार ?
राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव कम्तीमा ५० प्रतिशत भन्दा बढी मत ल्याउनुपर्छ । अर्थात्, २९ हजार १०४ भन्दा बढी मतभार ल्याउनुपर्छ । पहिलो चरणमा कसैले ५० प्रतिशत मत ल्याउन नसके सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः निर्वाचन हुने व्यवस्था छ । दोस्रो, चरणको चुनावमा दुई उम्मेदवारमध्ये दुबैले ५० प्रतिशत मत कटाउन नसकेको फेरि चुनाव हुन्छ र तेस्रो चरणको चुनावमा बढी मत ल्याउने निर्वाचित हुन्छ ।
तर, अहिलेको सत्ता साझेदार दलहरुसँग ५० प्रतिशत भन्दा बढी मतभार देखिन्छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरु मतदाता हुन्छन् । मतभार भने फरक–फरक हुन्छ ।
अघिल्लोपटक संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ थियो । यसपटक बढेर संघीय सांसदको ८७ र प्रदेश सांसदको ५३ भएको छ । जनसंख्या अनुसार मतभार तय गरिन्छ । जसअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा कुल मतभार ५८ हजार २०८ हुन्छ ।
सत्ता साझेदार दलहरु एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, रास्वपा, जनमत र नाउपाको मतभार ३४ हजार ७६ रहेको छ । त्यस्तै कांग्रेससँग १७ हजार ८८८ मतभार छ । हाल सरकारलाई समर्थन नगरेका दलहरु एकीकृत समाजवादी, लोसपा, राजमो, नेमकिपा र स्वतन्त्रहरु समेत गरी कुल ६ हजार २४४ मतभार रहेको छ ।
.jpg)


