काठमाडौँ । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबन्डाको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको संयन्त्रको बैठकले कुन पार्टीलाई कुन मन्त्रालय भन्ने विषय टुङ्गो लगाइसकेको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।
उनले भने, “कुन मन्त्रालय कुन पार्टीलाई भन्ने विषय टुङ्गिएको छ, तर भोलि आ–आफ्नो पार्टीमा छलफल भएपछि मात्रै सार्वजनिक हुन्छ ।” उनका अनुसार भोलि नै शपथ ग्रहण कार्यक्रम हुनेछ ।
सोमबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा झन्डै पाँच घण्टा लामो वार्ता भएको थियो ।
बैठकले राष्ट्रपति र सभामुख पदमा गठबन्धनको तर्फबाट नेकपा (एमाले)का उमेदवार रहने सहमति भएको छ । यी दुई पदसँगै सत्तारूढ सबैभन्दा ठूलो दल एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।
गठबन्धनमा रहेका दलहरूमध्ये सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको छ । त्यस्तै राप्रपा र रस्वपाले ३ मन्त्री र ३ राज्यमन्त्री पाउने भएका छन् भने जसपालाई २ मन्त्री दिइने भएको छ । तर जसपाले उपराष्ट्रपति मागेकोले त्यो नपाउने भएपछि असहमति जनाएको बताइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाललाई गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । विश्वासको मत पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भएको हो ।
.jpg)


