बुधबार, कार्तिक १९ गते २०८३
images
images

सत्ताको अग्निपरीक्षामा राजेन्द्र लिङदेन

एक्सप्रेस पाना
माघ ३, २०७९ मंगलबार
  • 241
    SHARES
  • सत्ताको अग्निपरीक्षामा राजेन्द्र लिङदेन

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवं उर्जामन्त्री बनेका छन् । देशमा राजतन्त्र फर्काउने र हिन्दु राज्य बनाउने प्रमुख एजेण्डा बनाएर राजनीति गरिरहेको राप्रपा अध्यक्ष लिङदेन सरकारमा गएसँगै उनको आलोचना पनि शुरु भएको छ  ।

    images

    राजतन्त्र फर्काउने प्रमुख एजेण्डा बोकेर मत प्राप्त गरेको राप्रपा गणतन्त्रका लागि जनयुद्ध गरेको नेता प्रचण्डकै नेतृत्वमा सरकारमा जानुलाई संयोग मात्र भन्न मिल्दैन । विश्लेषकहरु यसलाई नेपाली राजनीतिज्ञहरुको सत्ता मोहको रुपमा ब्याख्या गरिरहेका छन् । 

    एजेण्डाको विषयलाई बिर्सिने हो भने भष्ट्राचार गर्नु आमाको रगत खानु सरह हो भन्ने अभिव्यक्ति दिदै आएका लिङदेनको सत्तारोहणले उनको अग्निपरिक्षा आजकै दिनबाट शुरु भएको छ । कतिपयले यसअघि कमल थापा सरकारमा गएको विषयको निकै आलोचना गरेका थिए । जसको कारण राजनीतिमा थापालाई स्थापित हुन नै समस्या पर्यो । आज लिङदेनको सत्तारोहणलाई पनि कमल थापाको कदमसँग तुलना गरिएको छ ।

    images

    लिङदेनले मन्त्रीको शपथ लिनुअघि आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पंक्तिको असहम असहमति हुँदाहुँदै पनि अग्निपरीक्षामा होमिने निर्णयमा पुगेंको बताएका छन् । उपप्रधानसहित ऊर्जामन्त्रीको शपथ लिनुअघि आफ्नो लागि यो अग्निपरीक्षा ढिलोचाँडो अनिवार्य रहेकोसमेत बताएका थिए । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले असम्भव जस्तो लागे पनि आफू खरो उत्रिने र त्यसका लागि धैर्यता र सहयोगका लागि अपिल गरेका छन् ।

    उनले भनेका छन् ‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ, जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो। प्रियजनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु । धैर्यता र सहयोगका लागि अपिल गर्दछु ।'

    उर्जामन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा उनको अगाडी चुनौतीको चाङ रहेको छ । अर्कोतर्फ राप्रपाबाट विवादस्पद ठेकेदार नेता विक्रम पाण्डेलाई मन्त्री बनाएर लिङदेनले आफ्नो छबि अनुसारको काम गर्न नसकेको भन्दै आलोचना पनि भइरहेको छ । अब लिङदेनमाथि एकातिर दलाल र माफियाको चंगुलमा रहेको उर्जा क्षेत्रलाई बाहिर निकाल्नु रहेको छ भने अर्कोतर्फ स्वच्छ छबीलाई कायम गरेर सिंगो पार्टी सत्तामा गएको ठिक थियो भन्ने आम जनतालाई विश्वास दिलाउनुपर्ने छ । 

    गठबन्धन सरकारमा सामेल हुदा एउटा मन्त्रीलाई स्वतन्त्र रुपमा काम गर्ने  अवस्था त्यति नहुने विगतको अनुभव रहेको छ । तर लिङदेनले अब यसलाई कसरी चिर्छन् भन्ने कुरा महत्वपूर्ण हुने छ । त्यसैले लिङदेन आफैले भनेजस्तै सत्ताको अग्निपरीक्षामा रहेका छन् । उनी यस परीक्षामा पास भएमा राप्रपा पास हुने छ भने फेल भएमा राप्रपासहित उसका एजेण्डा पनि फेल हुने छन् ।