नेपालका लागि संयुक्त राज्य बेलायती राजदूत निकोला पोलिटले सभामुख देवराज घिमिरेसँग भेट गरेकी छन् । सभामुख कार्यकक्ष सिंहदरबारमा भएको भेटमा दुईको पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदान प्रदान लगायतमा केन्द्रित थियो ।
प्रतिनिधि सभाको सभामुख निर्वाचित भएपछि घिमिरेसँग भारतीय र चिनियाँ राजदूतले भेट गरिसकेका छन् ।
बेलायती राजदूतसँगको भेटमा सभामुख घिमिरेले २ देशबीच सरकार–सरकार मात्र नभइ जनता–जनतामा पनि सम्बन्ध विकास भएको उल्लेख गरे । बेलायत नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो मुलुक भएको उल्लेख गर्दै सभामुख घिमिरेले भने, ‘दुई देशबीच २०० वर्ष पुरानो सम्बन्ध अविस्मरणीय छ । विकास साझेदारी र विश्वमा शान्ति स्थापनाका काममा हामी सँगै हिँडेका थियौँ ।’
सभामुख घिमिरेले बेलायत संसदीय व्यवस्थाको जननी भएको बताउँदै दुई देशबीच आगामी दिनमा संसदीय आदान प्रदानलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताए ।
बेलायती राजदूत पोलिटले नेपाल र बेलायतीबीच दौत्य सम्बन्ध कायम भएको १०० वर्ष पुगेको अवसरमा नेपालमा उच्चस्तरीय भ्रमणको तयारी भइरहेको समेत जानकारी दिइन् । उनले विधायन निर्माण प्रक्रियामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् ।
राजदूत पोलिटले गत निर्वाचनमार्फत् नयाँ राजनीतिक दल र नयाँ प्रतिनिधि सभा सदस्य निर्वाचित भएको उल्लेख गर्दै संसदमा उनीहरुको उपस्थितिले नयाँपन आउने अपेक्षा गरिन् ।
.jpg)


