भारतको मुम्बईमा उपचारत नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको उपचारमा भेन्टिलेटर हटाइएको छ । मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारत भण्डारीलाई सोमबार बिहान परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको हो ।
मुम्बईमा रहेका कांग्रेस कार्यकर्ता माधव न्यौपानेले सोमबार बिहान सवा १० भण्डारीको पछिल्लो अपडेट भन्दै फेसबुकमा लेखेका छन्, ‘ट्रायलका रुपमा भेन्टिलेटर हटाइएको छ ।’
उनले स्वास्थ्य पारामिटर सामान्य रहेका र सुन्निएको भाग घट्दै गएको पनि जानकारी दिएका छन् । ‘स्वास्थ्य पारामिटर नर्मल रहेका छन् । सुन्निएको भाग घट्दै गएको छ । स्वास्थ्य सामान्यतर्फ गइरहेको छ,’ न्यौपानेले लेखेका छन् ।
काठमाडौंको बुद्धनगरस्थित निवासमा बुधबार राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा गम्भीर घाइते भएका भण्डारीलाई बिहीबार एयर एम्बुलेन्समार्फत मुम्बई लगिएको हो ।


