मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रपति चुनावअघि विश्वासको मत लिदै प्रधानमन्त्री प्रचण्ड

एक्सप्रेस पाना
फाल्गुण १५, २०७९ सोमबार
  • 175
    SHARES
  • राष्ट्रपति चुनावअघि विश्वासको मत लिदै प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति निर्वाचन अघि नै विश्वासको मत लिने तयारी गरेका छन् । अबको १० दिनपछि अर्थात् फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ ।

    images

    सरकार गठन गर्ने समयमा गत पुस १० गते माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका साझेदार दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिन लागेका हुन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पनि समर्थन भने कायमै राखेको छ ।

    ‘एमाले र राप्रपाले  सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्छ त्यस कारण राष्ट्रपतिको चुनाव अघि नै संसद्बाट विश्वासको मत लिने तयारी छ’ माओवादीका एक मन्त्रीले भने, ‘विश्वासको मत पाउन समस्या छैन त्यसैले विश्वासको मत लिएर अघि बढ्ने योजना छ ।’

    images

    प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले एमाले र राप्रपा सरकारबाट हटेर समर्थन फिर्ता लिए पनि सरकार बहुमतमै भएकाले विश्वासको मत लिन हतार गर्नुपर्ने अवस्था नरहेको बताए । यद्यपी उनले विश्वासको मत लिनेबारे सत्ता साझेदार दलसँगको छलफलपछि कहिले लिने भन्ने टुङ्गो लाग्ने बताए ।

    सरकारका प्रवक्ता रेखा शर्माले संविधान बमोजिम ३० दिनभित्र विश्वासको मत लिइने बताइन् । राष्ट्रपति चुनाव अघि लिने कि पछि लिने भन्ने विषयमा सत्ता साझेदार सबै दलसँग छलफल गरेर निर्णय लिने शर्माले बताइन् । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले भने सरकारले विश्वासको मत छिट्टै लिने दाबी गरे ।

    अहिलेको सरकारलाई ८ दलको समर्थन भएकाले सजिलै विश्वासको मत प्राप्त हुने अवस्था देखिएको छ । तत्काल विश्वासको मत लिएमा २ वर्षसम्म कसैले अविश्वासको प्रस्ताव ल्याउन नसक्ने ज्ञवालीले बताए ।

    प्रचण्ड नेतृत्वको सरकारबाट एमाले र राप्रपाले समर्थन फिर्ता लिए पनि अरू आठ दलले समर्थन गरेका छन् । जसमा माओवादी केन्द्र ३२, नेपाली काँग्रेस ८८, जसपा १२ सिट, एकीकृत समाजवादी १०, नागरिक उन्मुक्तिका एक स्वतन्त्रसहित ४, जनमत ६ र राष्ट्रिय जनमोर्चा १ सांसदसहित १५३ सांसदको साथ रहेको छ ।