काठमाडौं । राष्ट्रपति पदका लागि भएको निर्वाचनका मतदान प्रक्रिया सकिएको छ । बिहीबार बिहान १० बजेबाट सुरु भएको मतदान प्रक्रिया अपरान्ह ३ बजेसम्मका लागि समय तोकिएको थियो ।
कुल आठ सय ८२ मतदाता रहेको प्रदेशतर्फ ५५० मध्ये ५१८ र संघतर्फका ३३२ रहेकोमा ३१३ मत खसेको छ। राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र नौद लीय गठबन्धनबाट रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् ।
मतदान सकिएसँगै अब निर्वाचन आयोगले मतगणनाको तयारी शुरु गरेको छ ।
राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टीका सांसदहरूले मतदान गरेनन् ।
संघीय सांसद र प्रदेश सभाका सांसदहरूले खसालेको मत फरक-फरक स्थानमा गणना हुने आयोगले जनाएको छ । गणनामा राष्ट्रपतिका उम्मेदवारका एक-एक जना गणना प्रतिनिधि हुनेछन् । कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको तर्फबाट रमेश लेखक र एमालेका उम्मेदवार सुवास नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि बस्ने टुंगो लागेको छ ।
मत गणनामा कुनै मत पत्रमा स्वस्तिक छाप नलगाइएको भए र सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्नमा अन्यथा गरेको पाइएमा ति मत पत्र बदर हुने आयोगले जनाएको छ ।
मतपरिणाम केही घन्टामै सार्वजनिक हुने र आजै विजयी उम्मेदवारलाई प्रमाणपत्र दिने आयोगले तयारी गरेको छ ।
.jpg)


