काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्याजदरलाई एकल बिन्दुमै सीमित राख्न राष्ट्र बैंकलाई निर्देशन दिएको बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ब्याजदरलाई एकल बिन्दुमै सीमित राख्नका लागि आफूले राष्ट्र बैंक र सम्बद्ध पदाधिकारीहरूसँग छलफल गरी आवश्यक निर्देशनसमेत दिइसकेको बताएका हुन् । नेपाल बैंकर्स संघले पनि हाललाई ब्याजदर नबढाउने निर्णय गरिसकेको हुनाले व्यवसायीहरूका निम्ति सहज वातावरण बन्दै गएको उनले बताए ।
उनले भने-‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाहृय बजारको मूल्यमा निर्भर रहन्छ । तैपनि उपभोक्ताको हितलाई ध्यानमा राखेर सरकारको तर्फबाट घाटा सहेर भएपनि मूल्य नियन्त्रण गरिएको छ ।’
कोभिड महामारी, बाहृय युद्ध र आपूर्ति व्यवस्थामा परेको चाप जस्ता कारणले केही निर्माण सामग्रीको मूल्य बढ्दा निर्माण क्षेत्रको लागतसमेत बढ्न गएको उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्र सहज नरहे पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए । उनले हाल मुलुकसँग १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्रा सञ्चिति रहेकाले अर्थतन्त्र सुधारतर्फ रहेको दाबी गरे ।
उनले भने-‘गत वर्ष हामीसँग वैदेशिक मुद्रा सञ्चितिमा ह्रास आउँदा कतै मुलुक आर्थिक संकटमा परिहाल्ने हो कि, त्यसले सिंगो देशको स्वाधीनता र अस्तित्व संकटमा पर्ने हो कि भन्नेजस्तो परिस्थिति विद्यमान थियो । तर बाहृय क्षेत्र सन्तुलनमा राख्न तात्कालीन अवस्थामा सरकारले लिएका नीतिका कारण त्यस्तो संकटको सम्भावना टरेको छ ।’
अब आर्थिक गतिविधिलाई चलायमान बनाउने, अर्थतन्त्रका सूचकहरूमा सुधार ल्याउनेतर्फ नै सरकारको ध्यान गएको उनले बताए । उनले भने- अनावश्यक खालका चालु प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीब्रता दिने सरकारको प्राथमिकता छ । सबैभन्दा धेरै पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीका बाँकी रहेका भुक्तानीहरू समयमै भुक्तान गर्ने दिशातर्फ सरकारको ध्यान गएको छ ।’
.jpg)


