सोमबार, कार्तिक १७ गते २०८३
images
images

आइएमई लाइफ इन्स्योरेन्सको आइपिओ खुल्यो, कति कित्ताका लागि दिन सकिन्छ आवेदन?

एक्सप्रेस पाना
आषाढ २१, २०८० बिहीबार
  • 237
    SHARES
  • आइएमई लाइफ इन्स्योरेन्सको आइपिओ खुल्यो, कति कित्ताका लागि दिन सकिन्छ आवेदन?

    आइएमई लाइफ इन्स्योरेन्सको आइपिओ सर्वसाधारण लगानीकर्ताहरूका लागि आज (बिहीबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ। 

    images

    यसअघि कम्पनीले असार २० गतेदेखि आइपीओ खुला गर्ने भनेकोमा प्राविधिक कारण देखाउँदै असार २१ गतेबाट आवेदन खुला गरेको हो।

    कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि प्रिमियम मूल्यमा आइपिओ निष्कासन तथा बिक्री खुला गरेको हो।

    images

    कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम बापत १३६ रुपैयाँ ९१ पैसा थप गरी प्रतिसेयर कुल २३६ रुपैयाँ ९१ पैसामा सेयर निष्कासन गरेको हो।

    कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता आइपिओ बिक्रीमा ल्याएको हो। 

    सोमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरिसकेको छ। 

    यस्तै, निष्कासन गरिने कुल सेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ। 

    बाँकी रहेको ९६ लाख कित्ता सेयर कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको हो। कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

    उक्त आइपिओमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म सम्पूर्ण कित्ता सेयर बिक्री नभएमा बिक्री अवधि साउन ४ गतेसम्म लम्बिनेछ। 

    कम्पनीलाई केयर रेटिङ नेपालले 'केयर एनपी ट्रिपल बी इस्युअर' रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको जनाउँछ।

    कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। 

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराएको 'मेरो सेयर' सफटवेयरबाट आवेदन दिन सक्नेछन्।