काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार सामान्य अंकले बढेको छ ।
आज बजार ९.२३ अंकले बढेर २७१४.६१ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बजार बढेसंगै कारोबार रकम पनि सामान्य बढेको छ । बुधबार ८ अर्ब ९२ करोडको कारोबार भएको बजारमा बिहिबार ९ अर्ब ७ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १६२ कम्पनीको सेयर मुल्य बढेको छ भने ८८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १० कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।
यसदिन एसवाई प्यानल नेपाल, त्रिशुली जलविद्युत कम्पनी, श्रीनगर एग्रीटेक इण्डष्ट्री र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य ९ प्रतिशतले उकालो लागेको छ । कारोबारमा आएका कम्पनीमध्ये कालिका पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ६.२५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको बिहीबार ४० करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, मञ्जुश्री फाइनान्सको करिब ३६ करोड रुपैयाँ र एसवाई प्यानल नेपालको करिब ३३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये बिहीबार १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशतले बढेको छ । साथै, विकास बैंक, होटल तथा पर्यटन तथा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ । यता, व्यापार उपसमूहको परिसूचक भने सर्वाधिक १.१५ प्रतिशतले घटेको छ ।


