काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार सामान्य बढेको छ ।
आज बजार ८.९७ अंकले बढेर २६७१.०७ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढे संगै बिहिबार कारोबार रकम पनि बढेको छ । बुधबार ८ अर्ब ६९ करोडको कारोबार भएको बजारमा बिहिबार ११ अर्ब १० करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १३९ कम्पनकिो सेयर मुल्य बढेको छ भने ११५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ६ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।
यस दिन मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयर मूल्य २८ रुपैयाँ ५० पैसा बढेर ३१३ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भयो । त्यस्तै, रसुवागढी हाइड्रोपावरको शेयर मूल्य करिब १० प्रतिशतले उकालो लागेको छ भने खानी खोला हाइड्रोपावरको शेयर मूल्य ७ प्रतिशतले बढेको छ ।
कालिञ्चोक दर्शनको शेयर मूल्य सर्वाधिक ७.५९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो। कम्पनीको ७० करोड ५३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यसैगरी, एसवाई प्यानल नेपालको करिब ४३ करोड ५० लाख रुपैयाँ तथा रिडी पावरको करिब ४२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
उपसमूहगत रूपमा हेर्दा १३ मध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूह घटेका छन् । विकास बैंक उपसमूह सर्वाधिक १.१८ प्रतिशतले बढ्दा जलविद्युत उपसमूह करिब १ प्रतिशतले उकालो लागेको छ । अन्य उपसमूहहरूमा सामान्य वृद्धि देखिएको छ ।
यता, होटल तथा पर्यटन उपसमूह सर्वाधिक १.६५ प्रतिशतले घटेको छ । लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहमा पनि सामान्य गिरावट देखिएको छ ।


