काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार झिनो अकंले बढेको छ ।
आज बजार २.४१ अंकले बढेर २६१६.९७ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढेर बन्द भएता पनि कारोबार रकम भने सामान्य घटेको छ । आइतबार ६ अर्ब ६९ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब १३ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ११३ कम्पनीको सेयर मुल्य बढेको छ भने १४० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ९ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।
कारोबारमा सालपा विकास बैंकको शेयर मूल्य पुनः सकारात्मक सर्किट लेभलमा पुगेको छ। बैंकको शेयर मूल्य ३९ रुपैयाँ ९० पैसा बढेर ४३९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको हो। त्यसैगरी रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्य करिब साढे ९ प्रतिशतले वृद्धि भएको छ। मेगा म्युचुअल फण्ड–१ र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ६ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
यता, एनआईबिएल समृद्धि फण्ड २ को इकाई मूल्य भने सर्वाधिक ४.८१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३६ करोड २ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यसैगरी रिडी पावर डेभलपमेन्टको ३२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे २८ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढ्दा ७ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ, विकास बैंक, वित्त, लगानी, जीवन बीमा तथा अन्य उपसमूहमा सामान्य सुधार देखिएको छ। घटेका उपसमूहहरूको गिरावट दर पनि सामान्य नै रहेको छ।


