काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा व्यतीत बीमालेखहरू पुनर्जागरण गराउने उद्देश्यसहित विलम्ब शुल्कमा विशेष छुट योजना सार्वजनिक गरेको छ।
कम्पनीले वर्तमान आर्थिक कठिनाइका कारण धेरै बीमालेखहरू व्यतीत भइरहेका अवस्थालाई ध्यानमा राख्दै बीमितहरूलाई सहज रूपमा नवीकरण बीमाशुल्क भुक्तानी गर्न प्रोत्साहन गर्ने लक्ष्यसहित योजना ल्याएको हो ।
यसअन्तर्गत २०८३ वैशाख ७ देखि जेठ ५ गतेसम्म व्यतीत बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट प्रदान गरिनेछ।
कम्पनीका अनुसार ३० दिनसम्म लागू हुने यस विशेष “बीमा पुनर्जागरण योजना २०८२र०८३” ले बीमितहरूलाई आफ्नो बीमालेख पुनः सक्रिय गरी आर्थिक सुरक्षा सुनिश्चित गर्ने अवसर प्रदान गर्नेछ। रजत जयन्तीको अवसरमा कम्पनीले पहिलो पटक यति ठूलो स्तरको विलम्ब शुल्क छुट योजना ल्याएको जनाएको छ।
कम्पनीले सबै बीमितहरूलाई उक्त अवसरको अधिकतम उपयोग गर्दै बीमालेख नवीकरण गरी निरन्तर सुरक्षा कायम राख्न अनुरोध गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी देशकै अग्रणी जीवन बीमा कम्पनीमध्ये एक हो। कम्पनीले करिब ३० प्रतिशत बजार हिस्सा ओगटेको दाबी गर्दै आएको छ। विगत २५ वर्षदेखि सञ्चालनमा रहेको कम्पनीले देशभरका ७७ जिल्लामा शाखा सञ्जाल विस्तार गर्नुका साथै ६९ हजारभन्दा बढी अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ग्राहकको विश्वासलाई प्राथमिकतामा राख्दै यस्तो योजना ल्याइएको बताए।
उनले भने, “बीमालेख व्यतीत हुनु विभिन्न परिस्थितिको परिणाम हुन सक्छ। त्यसैले ग्राहकलाई पुनः बीमा सुरक्षाको दायरामा ल्याउने उद्देश्यले यो विशेष छुट योजना कार्यान्वयनमा ल्याइएको हो।”
उनले सबै बीमितलाई यस अवसरको सदुपयोग गरी आफ्नो तथा परिवारको भविष्य सुरक्षित बनाउन आग्रह गर्दै नेपाल लाइफ सधैं ग्राहकको विश्वासको सहयात्री रहने प्रतिबद्धता व्यक्त गरे।


