सोमबार, भाद्र २९ गते २०८३
images

पर्वतमा ४० प्रतिशत रोपाइँ बाँकी

एक्सप्रेस पाना
श्रावण २, २०७९ सोमबार
  • 262
    SHARES
  • पर्वतमा ४० प्रतिशत रोपाइँ बाँकी

    साउन २ पर्वत । यहाँ अझै ४० प्रतिशत खेतमा रोपाइँ हुन बाँकी रहेको छ । सिँचाइको सुविधा भएका र खोला नालाको नजिक रहेको खेतमा रोपाइँ सकिएको भए पनि मुख्य उत्पादन हुने र मकै लगाएका तथा वर्षायामको पानीको भरमा रोपाइँ हुने क्षेत्रका कृषकले रोपाइँ गर्न नपाएका हुन् । 

    images

    कृषि ज्ञानकेन्द्रका कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाका अनुसार आइतबारसम्म जिल्लामा करिब ६० प्रतिशत रोपाइँ पूरा भएको छ । धान उत्पादनको राम्रो क्षेत्र मानिएका ठाउँमा नै पानीको अभावका कारण करिब आधा जति रोपाइँ नभएको सूचना स्थानीय तहका प्राविधिकले दिएको उहाँको भनाइ छ । पाङ, कटुवाचौपारी, फलेबासलगायतका राम्रो धान उत्पादन हुने क्षेत्रमा नै रोपाइँ भएको छैन । करिब ६० प्रतिशत रोपाइँ भएको छ । “थोपाथोपा सँगालेर रोपेका ठाउँमा पनि सिँचाइ नहुँदा खेतका गरा चर्किएका छन्”, उहाँले भन्नुभयो, “वर्षा नै नभएपछि कसलाई के पो दोष लगाउनु ?” 

    दिनभर चर्को घाम लाग्दा पानीका मुहान सुकेर गर्मीका कारण कृषक पनि घरभित्र बस्नुपर्ने अवस्था रहेको छ । फलेबास नगरपालिका, पैँयु गाउँपालिका, जलजला गाउँपालिका र कुश्मा नगरपालिका धान उत्पादनका मुख्य क्षेत्र हुन् । डाँडाकाँडामा रहेका ती ठाउँमा वर्षा भएपछि उर्लिएर आउने खहरेको भर परेर रोपाइँ हुने गरेको छ । वर्षा नभएका कारण खहरे नै नउर्लिएका कारण रोपाइँ भएको छैन । जिल्लाका धेरै ठाउँका कृषकले गर्मीका कारण रोपाइँ भएका खेतका गरा फुट्दा रोपेको धान नै ओइलिँदै गएको बताएका छन् । 
     
    जिल्लाको कुश्मा नगरपालिका–१ पाङका कृष्णप्रसाद रिजालले यस वर्ष पाकेको मकै थन्क्याएको केही दिन भइसक्दा पनि पानीको अभावमा धान रोप्न नपाएको बताउनुभयो । रोपाइँको तयारीका लागि खेतका गरा खाली गरिए, तर वर्षा नहुँदा खेत बाँझै छन् । “पोहोर सालको तुलनामा त अहिले पानी नै परेन, अब त भोकमरी आउन लागेको हो जस्तो भयो, सबै खेत बाँझै छ, बीउ बुढिएर रोप्नै नमिल्ने भइसक्यो”, उहाँले भन्नुभयो । 

    images

    समाचारमा विगतको तुलनामा यस वर्ष वर्षाको सम्भावना धेरै रहेको र बाढीपहिरो जानसक्ने कारण सतर्कता अपनाउन भनिए पनि पानीको थोपो देख्न नपाएको कृषकले बताएका छन् । कुलो र नहरको सुविधा भएको, खोला तथा नदी किनार र खोल्साका छेउछाउमा रहेका खेतमा रोपाइँ सकिएको भए पनि आकाशे पानीकै भर परेर रोपिने ठाउँमा रोपाइँ हुन सकेको छैन । 

    वर्षा भएका बेलामा भल छोपेर रोप्ने तथा धारोको पानी जम्मा पारेर पालो गरेर जसोतसो रापिएका खेत पनि सिँचाइको समस्यामा पटपटी फुटेका छन् । “धाराको पानी जम्मा पारेर पालो गरेर रोपेको खेतमा सिँचाइ गर्ने पानी नपुग्दा रोपेको खेत पनि पट्पटी फुटेको छ”, फलेबास नगरपालिका–३ शङ्करपोखरीका प्रदीप भुसालले भन्नुभयो, “दिनभर टन्टलापुर घाम लागेको छ, अलिअलि रसाउन थालेका मूल पनि घामले सुके”, उहाँले भन्नुभयो, “अब वर्षा भएछ भने पनि साउनमा रोपेको धान के पो फल्ने होला ?”