बुधबार, कार्तिक १९ गते २०८३
images
images

नौ मतदानस्थल स्थानान्तरण

एक्सप्रेस पाना
श्रावण २२, २०७९ आइतबार
  • 198
    SHARES
  • नौ मतदानस्थल स्थानान्तरण

    साउन २२ चितवन । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा एउटा मतदानस्थल थपिएको छ, भने नौ वटालाई स्थानान्तरण गरिएको छ । 

    images

    मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिको बैठकले माडी नगरपालिका-२ स्थित जीवनपुर राष्ट्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रलाई विभाजन गरी देवीस्थानमा थप गरिएको हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार त्यस केन्द्रमा मतदान गर्नका लागि मतदाता तीन घण्टासम्म हिँडेर आउनुपर्ने भएकाले केन्द्र विभाजन गरी थप गर्ने निर्णय गरिएको हो । उहाँका अनुसार दुई वटा केन्द्रको त्रुटी सच्याउने र नौ वटा केन्द्र स्थानान्तरण गर्ने काम गरिएको हो । 

    कार्कीका अनुसार नौ मतदान केन्द्र मतदातालाई पायकपर्ने स्थानमा स्थानान्तरण गरिएको छ । विद्यालय गाभिएका, भौतिक संरचना निर्माण भई कम्पाउण्ड साघुरो भएका केन्द्रलाई स्थानान्तरण गरिएको हो ।

    images

    मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०७७ अनुसार केन्द्र आफ्नै वडामा हुनुपर्ने भएकाले दुई केन्द्र वडामा सारिएको कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर महानगरपालिका-८ मा रहेको शरदपुर माध्यामिक विद्यालय मतदानस्थललाई वडा नं ९ मा रहेको शरदपुर माध्यामिक विद्यालय प्राविधिक शिक्षालयमा सारिएको छ । 

    यस्तै राप्ती नगरपालिका–२ मा रहेको बुद्धशान्ति क्याम्पसको मतदानस्थललाई राप्ति नगरपालिका-३ को वडा कार्यालयमा स्थानान्तरण गरिएको छ । यी दुवैस्थल वडा बाहिर रहेका थिए । जिल्ला निर्वाचन कार्यालयले गत असार १ गतेदेखि सुरु गरेको नामावली  सङ्कलन कार्यमा नयाँ नाम दर्ता गर्नेको सङ्ख्या १४ हजार ७३१ जना रहेको छ । जिल्लाका १२ हजार ९६३ जना रहेको कार्यालयका प्रमुख कार्कीले जानकारी दिनुभयो । जिल्लाको तीन स्थानबाट गरिएको नामावली सङ्कलनका क्रममा उनीहरुले नाम दर्ता गराएका हुन । नाम दर्ता गराउनेमध्ये एक हजार ७६८ जना बाह्य जिल्लाका छन् । 

    उनीहरुले यहाँ नामावली दर्ता गराएको भए पनि सम्बन्धित जिल्लामानै पठाइने उहाँले बताउनुभयो । स्थानीय तहको निर्वाचन २०७९ मा जिल्लामा तीन लाख ९७ हजार ६८५  मतदाता थिए । जिल्लामा  १६१ मतदानस्थलमा ४५१ मतदान केन्द्र थिए । सङ्घीय र प्रदेशसभा निर्वाचनमा मतदानस्थल थप भएसँगै केन्द्रसमेत थप हुने कार्कीले बताउनुभयो ।