देवराज सुवेदी / मेलम्ची । २०७२ को भुकम्प, कोरोना माहामारी तथा २०७८ असार र त्यसपछिको बाढीबाट प्रभावित जिल्लाका हेलम्बु, मेलम्ची तथा पाँचपोखरीमा आन्तरिक पर्यटकको चहलपहलले व्यवसायी तथा यस क्षेत्रका बासीन्दामा आशाको सञ्चार देखिएको छ । लामो समयदेखि सुनसान रहेको यस क्षेत्रमा विस्तारै चहलपहल बढन थालेको छ ।
शनिबार स्वयम्भु भजन खल उप कमिटी स्वयम्भु उना पासा मुनाका चार सय जना १२ वटा बस रिजर्भ गरि मेलम्ची हुँदै पाल्चोक भगवती, इच्छेश्वर महादेव मन्दीर, हेलम्बुमा निमार्णाधिन ग्रेट ट्रेल घुम्न आएका हुन । ज्ञानमाला भजन खल स्वयम्भुुको उपाध्यक्ष पुर्णकाजी सैँजु सहित काठमाडौंका स्थानिय चार सय जनाको टोलि भ्रमणमा आउनु भएको हो । यस उप कमिटिले काठमाडौं बासीलाई बिभिन्न तिर्थ स्थल घुमाउने गरेको उहाँले बताउनुभयो ।
पाल्चोक मन्दिरमा अन्य बार भन्दा शनिबार बिशेष भिड हुने गर्दछ । शनिबारका दिन पाल्चोक, हेलम्बु, मेलम्ची तथा पाँचपोखरीमा आन्तरिक पर्यटकको चहलपहल हुने गरेको छ । इच्छेश्वर महादेव मन्दीर हेलम्बु ईचोकका संयोजक एबम् समाजसेवी नयनबहादुर पण्डितले हेलम्बु तथा मेलम्चीको पर्यटन पर्बद्धनका निमिक्त उहाँहरुलाई भ्रमणको आग्रह गरिएको बताउनुभयो । उहाँले एक धार्मिक संस्थाले अर्को संस्थाकालाई भ्रमणको लागि गरिएको आग्रह स्विकार गर्नुभएकामा आभार प्रकट गर्नुभयो । सँैजुले हेलम्बु, मेलम्ची क्षेत्रमा घुम्ने रहर भएकाहरुलाई काठमाडौंबाट नजिक रहेको यस स्थानमा घुम्न आएको बताउँनुभयो ।
पाल्चोक मन्दिर धेरैले आउने इच्छा व्यक्त गरेकाले आफुहरु घुम्न आएको बताउँनुभयो । हेलम्बु गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले अब हेलम्बुमा पर्यटन अझै फस्टाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले मेलम्ची खानेपानी मुहान तथा बाढी प्रभावित क्षेत्रमा अध्ययनका, अनुसन्धान केन्द्रको रुपमा बिकसीत गरि पर्यटक बढाउने बताउनुभयो । पर्यटक बिस्तारै बढ्न थालेपछि मेलम्ची र आसपासका व्यवसायीमा खुशीको सञ्चार भएको स्थानिय होटल व्यवसायी जनकलाल श्रेष्ठले बताउँनुभयो । अहिले व्यवसायी सटर लाउने अवस्थामा रहेको बताउनुभयो ।
पाल्चोकीमाई मन्दिरमा भक्तजनको आकर्षण
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नम्बर ३ पाल्चोक स्थित प्रशिद्ध धार्मिकस्थल पाल्चोकीमाई मन्दिरमा भक्तजनको आर्कषण बढ्दै गएको छ । पाल्चोक मन्दिरमा सिन्धुपाल्चोक,काभ्रेपलाञ्चोक,नुवाकोट,भक्तपुर,ललितपुर, काठमाडौँलगायतका जिल्लाबाट भक्तजन पूजाअर्चना र पञ्चवली लिएर आउने गरेका छन् । कोही भाकल गर्न र कोही भाकल बुझाउन मन्दिर आउने गरेको पाल्चोकीमाई मन्दिर संरक्षण समितिका अध्यक्ष दमैसिङ तामाङले जानकारी दिनुभयो ।
एकदशी, औंशी, रामनवमी, महाशिवरात्री, साउन महिनाभर, श्रीकृष्ण जन्माअष्टमी र दशैंको घटस्थापनादेखि अष्टमीसम्म पाल्चोक भगवतीको मन्दिरमा बलि निषेध गरिएको छ । पछिल्लो समय पाल्चोकीमाई मन्दिर जानका लागि सडक सुविधा र मन्दिर आसपास सुविधा सम्पन्न होटलहरु समेत धमाधा बन्दैगरेका कारण भक्तजनहरु समेत खुशि भएका छन् । सडक पूर्वाधार,होटल र आकर्षक अन्य संरचनाहरु बनेसँगै भक्तजनको सङ्ख्या झनै बढ्न थालेको बताउनुहुन्छ पुजारी पर्वल गिरी यस मन्दिरमा प्रत्येक वर्ष रामनवमी दिन देवी भागवत पाठ गर्ने प्रचलन चल्दै आएको छ ।

श्री जय बागेश्वरी मन्दिर समुद्र सतहदेखि १७५० मिटरको उचाइमा छ । वि.सं. १९५३ मा मैतेसिंह तामाङले विभिन्न सामान दान दिएर बहादुर खड्कालाई हस्तान्तरण गरिएको किंबदन्ती रहेको छ । अर्को किंवदन्तीअनुसार पाँचौं शताब्दीभन्दा पहिले मानव बस्ती बस्नका लागि पाल्चोक भगवती मन्दिर भएको ठाउँनिर खोल्सातिरबाट जंगल फँडानी र खन्दै आउँदा रगत बगेर आएको र अर्कोपट्टिबाट खन्दा दूध आएको हुँदा स्थानीय गाउँले (किसानहरू)ले यहाँ देवदेवी हुन सक्ने भनी अनुमान लगाइ अनर्थ भयो भनी सरकारमा जाहेर गरेपछि दुईवटा शिला प्राप्त भएको स्थानीयको भनाइ छ ।
दाहिनेपट्टि सुतेको अपस्थामा जय (जागेश्वरी) र अर्कोतिर उठेको अवस्थाको बागे (बागेश्वरी) देवीको रूपमा रहेकाले जय बागेश्वरी नाम राखिएको हो । त्यस्तै, दूध निस्किएपट्टि शिवजी (सिद्धेश्वर महादेव) को मन्दिर छ, शिवजीको मन्दिरमा दूध नै चढाउने प्रचलन छ । स्थानीय शिक्षक रामगोपाल श्रेष्ठका अनुसार त्यसपछि गिरी र ब्राह्मणहरूले मन्दिरभित्र पसेर पूजाआजा गर्ने प्रचलन चलाइएको थियो । त्यसक्रममा जुद्धशमशेरकी श्रीमती बिरामी भएर जय बागेश्वरी (पाल्चोक) मन्दिर देखाउन ल्याइएको र पाल्चोकका स्थानीय तेम्बा झाँक्रीले निको पारेपछि यो मन्दिर चर्चित भएको स्थानिय बताउछन् ।
पर्यटकिय केन्द्र पाल्चोक
पाल्चोक मन्दिरमा मास्टर प्लान अनुसार काम हुने गाउँपालिकाले जनाएको छ । पार्किङ, आकर्षक मन्दिरको संरचना लगायत पर्यटकका लागि आकर्षक वातावरण सिर्जना गर्नका लागि गाउँपालिकाले नियमित काम भइरहेको जनाएको छ । अब प्रत्येक महिनामा आन्तरिक र बाह्य पर्यटकहरु कतिको संख्यामा हेलम्बु पुग्छन् भन्ने तथ्यांक संकलनको काम गाउँपालिकाले गर्ने त्यहि अनुसारको काम अगाडि बढ्ने गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

चर्चित पर्यटकीय गन्तव्य ह्योल्मो भूमि हेलम्बुबाट रसुवाको प्रसिद्ध लामटाङ र गोसाइँकुण्ड क्षेत्र जोड्ने दुई पर्यटकीय पदमार्ग अन्तिम चरणमा पुगेका छन् । पर्यटन विभागको नौ करोड लागतमा हेलम्बु गाउँपालिकाको पहलकदमीमा निर्माणाधीन हेलम्बुको शिर सिमिसिदाङ हिमाल हुँदै लामटाङ जोड्ने ३० किलोमिटरमध्ये तीन किमि मात्रै बन्न बाँकी छ ।
सुन्दरीजल, कुटुम्साङ–घोप्टेघ्याङ-मेलम्चीघ्याङ, तिम्बु-मेलम्चीघ्याङ, पाल्चोक-ककनी, निगाले-ककनी, शेर्माथाङ-पाल्चोक जय बागेश्वरी भगवती पदमार्गको हालै स्तरोन्नतिको काम सकिएको छ ।



