आइतबार, कार्तिक १६ गते २०८३
images
images

गोरखाका समस्या समाधान गर्ने गृहमन्त्री गुरुङको प्रतिबद्धता

एक्सप्रेस पाना
कार्तिक १६, २०८३ आइतबार
  • 59
    SHARES
  • गोरखाका समस्या समाधान गर्ने गृहमन्त्री गुरुङको प्रतिबद्धता

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूसँग अन्तरक्रिया गरेका छन्। अन्तरक्रियाका क्रममा सहभागीहरूले जिल्लामा देखिएका विभिन्न समस्या, विकास निर्माणको अवस्था, कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा उद्योग–व्यवसाय क्षेत्रका चुनौतीबारे गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराएका छन्।

    images

    कार्यक्रममा सहभागी बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूले गोरखा पूर्वाधार विकासमा पछाडि परेको र पर्यटकीय सम्भावना हुँदाहुँदै पनि यस क्षेत्रको विकास तथा प्रवर्द्धनमा सरकारले पर्याप्त चासो नदिएको गुनासो गरेका थिए। जिल्लाको समग्र विकासलाई गति दिन आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको माग थियो।

    त्यस्तै, कृषि उत्पादनले उचित बजार र मूल्य नपाउँदा किसानहरू समस्यामा परेको विषय पनि उठाइएको थियो। सरकारले कृषि उत्पादन तथा बजारीकरणमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सहभागीहरूले नेपाली किसानले उत्पादन गरेका तरकारीले नै बजारमा प्राथमिकता पाउनुपर्नेमा जोड दिएका थिए। स्थानीय उत्पादनले बजार नपाउने अवस्थाको अन्त्य गर्दै किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सरकारले ठोस पहल गर्नुपर्ने उनीहरूको भनाइ थियो।

    images

    अन्तरक्रियामा उद्योगी तथा व्यवसायीहरूले जिल्लामा उद्योग–व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या र व्यावसायिक वातावरण सुधारको आवश्यकताबारे समेत आफ्ना धारणा राखेका थिए। गोरखामा उपलब्ध स्रोतसाधन र सम्भावनाको सदुपयोग गर्दै आर्थिक गतिविधि विस्तार गर्न तथा स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्न राज्यको प्रभावकारी भूमिका आवश्यक रहेको विषयमा सहभागीहरूले जोड दिएका थिए।

    सहभागीहरूका गुनासा तथा सुझाव सुनेपछि गृहमन्त्री गुरुङले आफू सरकारमा आएको ६ महिना मात्रै भएको उल्लेख गर्दै गोरखाका समस्या समाधान गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । गोरखाले नै आफूलाई गृहमन्त्री बनाएको स्मरण गराउँदै उनले जिल्लाका नागरिकका समस्या र अपेक्षालाई गम्भीरतापूर्वक लिने बताएका छन् । 

    गृहमन्त्री गुरुङले गोरखाको विकास र नागरिकका समस्याको समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

    यसैबीच, केही साताअघि आएको बुढीगण्डकीको बाढीले बगाएको पुलको पुनर्निर्माण तत्काल अघि बढाइएको विषयलाई लिएर सहभागीहरूले गृहमन्त्री गुरुङलाई धन्यवाद दिएका थिए। विपद्का कारण प्रभावित बनेको आवागमन सहज बनाउन गरिएको पहलप्रति उनीहरूले सकारात्मक प्रतिक्रिया जनाएका हुन्।

    अन्तरक्रियाका क्रममा सहभागीहरूले गोरखावासीले भाषण र आश्वासनभन्दा काम गरेर देखाउने नेतृत्व खोजेको धारणा व्यक्त गरेका थिए। जिल्लाको विकास, पूर्वाधार निर्माण, कृषि क्षेत्रको सुधार, पर्यटन प्रवर्द्धन तथा उद्योग–व्यवसायको विकासमा प्रभावकारी काम हुने अपेक्षा राख्दै उनीहरूले गृहमन्त्री गुरुङबाट परिणाममुखी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेका थिए।

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री गुरुङ