सोमबार, कार्तिक १७ गते २०८३
images
images

ग्लोबल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर: अध्यक्ष ढकाल

एक्सप्रेस पाना
पौष २५, २०७९ सोमबार
  • 271
    SHARES
  • ग्लोबल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर: अध्यक्ष ढकाल

    काठमाडौं । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंक भएको बताउनुभएको छ ।

    images

    सोमबार ग्लोबल आईएमइ बैंकले बैंक अफ काठमाण्डुसँगको मर्जरपछिको एकीकृत कारोबार उद्घाटन कार्यक्रममा बोल्दै उहाँले राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि मर्जरको नीतिलाई कार्यान्वयनमा ल्याउने ग्लोबल आईएमई बैंक मर्जर नीतिको लिडर बैंक भएको दावी गर्नुभयो ।

    उहाँले नेपाली बैंकिङ क्षेत्रका लागि आजको दिन ऐतिहासिक दिन भएको बताउनु भयो । उहाँले ग्लोबल आईएमई र बैंक अफ काठमाण्डुबीच मर्जरले बैंकको अधिकांश वित्तीय सूचकहरुमा ग्लोबल आईएमई बैंक नेपालको पहिलो बैंकको रुपमा स्थापित भएको बताउनुभयो ।

    images

    अध्यक्ष ढकालले बैंक अफ काठमाण्डुसँगको मर्जर समेत गरेर ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनी गरेर कुल २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मिलेर ग्लोबल आईएमई बैंक २१ वटा बैंक तथा वित्तीय संस्थाको एकीकृत कारोबार गर्न सफल भएको बताउनुभयो ।

    उहाँले बैंकले दुई प्लस दुई चार नभई ५ को लक्ष्यसहित मर्जरमा गएकाले सफल भएको बताउनुभयो । उहाँले नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउँदै ग्लोबल आईएमई बैंकले मर्जरमा प्राप्त गरेको सफलताले अन्य बैंक तथा वित्तीय संस्थालाई पनि मर्जरको लागि प्रोत्साहन गरेको बताउनुभयो ।

    अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंक कुल पूँजी, निक्षेप,कर्जा शाखा सञ्जालका आधारमा देशकै ठूलो बैंक भएको बताउनुभयो । उहाँले बैंक आकार र पूँजीका आधारमा ठूलो हुनु मात्रै सफलता नभएको भन्दै आकारको यो वृद्धिले मुलुकको वित्तिय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउन सक्नुपर्ने बताउनुभयो ।

    उहाँले मुलुकका सबै क्षेत्रका नागरिकलाई सानोदेखि ठूलोसम्म वित्तीय सेवा पुर्याउने बैंकका रुपमा अघि बढीरहेकाको बैंकले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको बताउनुभयो ।

    उहाँले मर्जरपछि कुल पूँजीकोष ५७ अर्ब, कुल निक्षेप ४ खर्ब १० अर्ब, कुल कर्जा ४ खर्ब, कुल सम्पती ५ खर्ब, शाखा सञ्जाल १ हजार १ सय र सेवा प्रवाह भएको जिल्लाहरु ७७ रहेको बताउनुभयो । उहाँले ३ वटा वैदेशिक सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढी ग्राहकहरु र ४ हजार बढी कर्मचारीहरु रहेको पनि बताउनुभयो ।

    उहाँले बैंकले राष्ट्र बैंकबाट अनुमति लिएर दक्षिण कोरियामा नेपालको पहिलो वैदेशिक शाखा सञ्चालन अन्तिम तयारीमा रहेको बताउनुभयो । अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंक नेपालको बैंकिङ क्षेत्रमा कुल बजार हिस्सा नै करिव १० प्रतिशत ओगट्ने बैंक बनेको बताउनुभयो । उहाँले बैंक ठूलो भएर जोखिम बहन गर्नसक्ने क्षमतामा वृद्धि भएसँगै ठूला परियोजनामा लगानी जुटाउन धेरै बैंक सहभागी हुनुपर्ने कठिनाइलाई यो मर्जरले सहजीकरण गर्ने विश्वास लिएको बताउनुभयो ।

    उहाँले खाडिमा रहेका नेपालीहरुले दुःख गरेर कमाएको रेमिट्यान्स घर–घरमा पुर्याउन सेवा सुरु गरेको आइएमईको यात्रा आज आईएमई फाइनान्स हुँदै आज नेपालकै सबैभन्दा ठूलो वाणिज्य बैंकको रुपमा स्थापित भएको बताउनुभयो । उहाँले पेशा र व्यवसायीको सफलताको सूत्र इमान्दारिता भएको भन्दै आईएमई तत्कालीन समयमा राज्यको आवश्यकता र प्राथमिकता रहेको बताउनुभयो ।

    आईएमई समूह वित्तीय क्षेत्र मात्रै नभएर राज्यको प्राथमिकतामा रहेको सूचना प्रविधिका साथै पर्यटन पूर्वाधारमा पनि केन्द्रित रहेको उहाँले बताउनुभयो ।