सोमबार, कार्तिक १७ गते २०८३
images
images

मानव बेचबिखन तथा ओसारपसार विरुद्ध लाग्न आग्रह

एक्सप्रेस पाना
पौष २८, २०७९ बिहीबार
  • 225
    SHARES
  • मानव बेचबिखन तथा ओसारपसार विरुद्ध लाग्न आग्रह

    कर्णाली । मानव बेचबिखन तथा ओसारपसारका गतिविधि नियन्त्रणको अभियानमा लाग्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपिल गरेको छ ।

    images

    मन्त्रालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा बुधबार आयोजित ‘मानव बेचबिखन तथा ओसारपासर नियन्त्रणसम्बन्धी अभियान कार्यक्रम’ मन्त्रालयले साङ्गठनिक अपराधका विरुद्ध एक भएर अगाडि बढ्न अपिल गरिएको हो । मन्त्रालयका सहसचिव लक्ष्मीकुमारी बस्नेतले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी आफ्नो प्रस्तुति राख्दै सबै क्षेत्र, तहको साझा प्रयासबिना यो समस्या नियन्त्रण हुन नसक्ने बताइन् ।

    “पछिल्लो तथ्याङ्कलाई हेर्दा नेपालमा ४० हजार तीन सय व्यक्ति बेचबिखन तथा ओसारपसार भएको देखिन्छ”, उनले भनिन्, “तर यस्ता क्रियाकलापविरुद्ध मात्र एक सय ३४ उजुरी परेका छन् ।” ओसारपसारका विरुद्धमा  उजुरी नगण्य मात्रामा पर्नु निकै दुखद् कुरो भएको बताउँदै सहसचिव बस्नेतले यसमा सचेतना र अभियान दुवै आवश्यक भएको जनाइन् ।

    images

    गरिबी, अशिक्षा र वैदेशिक रोजगारीका कारण बढी महिला तथा बालबालिका बेचबिखन तथा ओसारपसारमा परेको प्रतिक्रिया दिएकी उनले मुलतः आन्तरिक र बाह्य दुवै ओसारपसार भएकाले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणको अभियानमा लाग्न समग्र क्षेत्रलाई अनुरोध गरिन् ।

    कार्यक्रममा उनले नीतिगत, संरचनागत समस्या भए पनि मानव बेचबिखन तथा ओसारपासर ऐन, २०६४ बनेको जनाइन् । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी)ले समाज परिवर्तनका लागि सोच परिवर्तन आवश्यक रहेको टिप्पणी गरिन् ।

    “मुलुकमा कानुन बनेका छन् तर घटना नियन्त्रण हुन नसक्नु आफैंमा सोचनीय विषय हो”, उनले भनिन्, “अब भौतिक विकास मात्र होइन, सामाजिक न्यायको ५० प्रतिशत विकास हुन सकेमा मात्र हामीले लिएको उद्देश्य पूरा हुन्छ । ”समाज रुपान्तरण र मानव विकासको समग्र परिणाम प्राप्तिका लागि बनेका कानुनको प्रभावकारी कार्यान्वयन पहिलो प्राथमिकतामा हुनुपर्ने र यसको निर्मम समीक्षा गर्नुपर्नेमा उनको जोड थियो । अबको पाँच वर्षमा समाजले अनुभूति गर्ने गरी काम गर्नुपर्ने नगरप्रमुख ढकालको भनाइ थियो ।

    सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मानव बेचबिखन तथा ओसारपसारमा विविधिकरण भएको जनाए ।पछिल्लो समयमा बेचबिखन र ओसारपसार मात्र नभएर मानव अङ्ग प्रत्यारोपणसमेत हुने गरेको उनको भनाइ थियो । एनसेल अपराधीहरूले प्रयोग गर्ने नेटवर्कमा रुपान्तरण भएको भन्दै यसको नियन्त्रण तथा विशिष्टीकृत कार्यका लागि महिला विकास कार्यालय आवश्यक रहेको प्रजिअ रिजालले औँल्याए ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेत, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी निरीक्षक झरना सोनारले ओसारपसारका गतिविधि बढ्दै गए पनि तीन वर्षमा सुर्खेतमा पाँचवटा मात्र मानव बेचबिखन तथा ओसारपसारविरुद्ध उजुरी परेको जनाए । यस्ता घटनाविरुद्ध पैसा नलाग्ने भन्दै पीडितहरूले हस्तलिखित निवेदन ल्याए पनि दर्ता गर्दै आएको प्रहरी निरीक्षक सोनारले बताए ।

    समाजिक विकास मन्त्रालयका प्रतिनिधि अनिता ज्ञावली, बराहताल गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारी, महिला अधिकारकर्मी पवित्रा शाहीलगायतले सङघ, प्रदेश र स्थानीय तहको आपसी समन्वय, सहकार्य तथा साझेदार निकायहरूको सहयोगबाट राज्यले लिएको लक्ष्यमा पुगिने बताए । उक्त कार्यक्रममा मानवअधिकारकर्मी, स्थानीय तहका न्यायिक समितिका संयोजक, महिला शाखा प्रमुख, किशोरकिशोरी, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि एवं सञ्चारकर्मी पत्रकारको सहभागिता रहेको थियो ।