काठमाडौँ । सुपर मादी हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजीको १० प्रतिशत अथार्त २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न छुट्याएको थियो । सोमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि र १ लाख ५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुको बाँडफाँट गरिएको छ।
त्यसका साथै ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी १७ लाख ४३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सो आईपीओमा लगानीकर्ताले माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ २३ गतेसम्म लम्बिनेछ । सो शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सकिनेछ ।
यस कम्पनीले कास्कीको मादी नदीमा ४४ मेगावाट क्षमताको सुपार मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको अनुमानित लागत ८ अर्ब ३५ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १८ करोड ९७ लाख ७२ हजार रुपैयाँ रहेको छ ।
.jpg)


