बुधबार, भाद्र २४ गते २०८३
images

यसरी भएको थियो नेपाल टी२० लिगमा फिक्सिङ

एक्सप्रेस पाना
माघ १०, २०७९ मंगलबार
  • 269
    SHARES
  • यसरी भएको थियो नेपाल टी२० लिगमा फिक्सिङ

    नेपाल टी २० लिगमा पूर्वक्रिकेटर महबुब आलमले खेलाडीलाई फिक्सिङको प्रस्ताव गरेको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले मंगलबार पत्रकार सम्मेलन गर्दै महबुबले २ खेलाडीलाई प्रस्ताव गरेको बताएको हो । 

    images

    म्याच–स्पट फिक्सिङको प्रस्ताव आएपछि खेलाडीले एन्टी करप्सन युनिटमा रिपोर्ट गर्नुपर्नेमा आदिल अन्सारीले त्यस्तो नगरी स्पट फिक्सिङ गरेको पाइएको अनुसन्धानले देखाएको छ । 

    जनकपुर रोयल्सबाट ८ खेल खेलेका आदिलले फारवेष्टविरुद्ध फ्याँकेको नो बलको चर्चा हुँदै आएको थियो । 

    images

    आदिलले फारवेस्ट युनाइटेडविरुद्ध छैटौं ओभरमा फ्याँकेको नो बलले उनी शंकाको घेरामा तानिएका थिए । एन्टी करप्सन युनिटले उनीसँग सोधपुछ गरेपछि उनले बाँकी खेल खेलेका थिएनन् । 

    आदिलले नेपालबाट ६ ओडीआई र ८ टी २० आई खेल खेलिसकेका छन् । लिगको कुनै पनि टोलीमा नरहेका महबुब आलमले स्पट फिक्सिङमा बाहिरबाट भूमिका खेलेको सीआईबीले बताएको छ । 

    गत पुस १९ गते खेलमा मिलेमतो गरेको आशंकापछि गृह मन्त्रालयले सीआईबीलाई छानबिनका लागि निर्देशन दिएको थियो । 

    त्यसअघि काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि आफ्ना एक खेलाडीलाई फिक्सिङको लागि प्रस्ताव आएको बताएका थिए ।

    महबुबले २००८ मा मोजाम्बिकविरुद्ध ७.५ ओभरमा १ मेडन सहित १२ रन खर्चेर १० विकेट लिदै गिनिज बुकमा नाम समेत लेखाएका थिए ।

    महबुब सीमित ओभरको अन्तर्राष्ट्रिय खेलमा १० विकेट लिने विश्वका एक्ला खेलाडी हुन् । नेपाल टी २० लिग कीर्तिपुरस्थित त्रिवि मैदानमा पुस ९ गतेदेखि २७ गतेसम्म भएको थियो ।

    के छ कानुनी व्यवस्था? 
    राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ३१ मा खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने व्यवस्था छ । यसमा नेपालभित्र वा नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडीसाग प्रतिस्पर्धा गर्दा कुनै खेलसम्बद्ध खेलाडी वा पदाधिकारीले तयस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने गरी कुनै खेलाडी वा खेलाडीको समूहसाग मिलेमतो गर्न वा कसैको प्रलोभनमा पर्न वा कुनै बाजी जिताउने वा हराउने गरी तयस्तो खेल खेल्न वा खेलाउने कार्य गर्न नहुने उल्लेख गरिएको छ । 

    त्यस्तै दफा ३२ को (ग)मा कसुरसम्बन्धी व्यवस्था छ । यसअनुसार खेलमा मिलेमतो तथा अनियमितता गरेमा यस ऐन अन्तर्गत कसुर मानिने उल्लेख छ । 

    दफा ३३ मा सजायसम्बन्धी व्यवस्था छ, जसअनुसार ३ वर्ष कैद र ५० हजार जरिवाना गरी सो कसुर गर्दा कुनै रकम लेनदेन गरेको भए सो रकम समेत जफत हुने उल्लेख छ । 

    यसबाहेक कसुर गर्न आदेश वा निर्देशन दिने, त्यस्तो कसुर गर्न दुरुत्साहन दिने, उक्साउने वा मद्दत गर्ने व्यक्तिलाई मुख्य कसुरदारसरह सजाय हुने कानुनी व्यवस्था छ । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # नेपाल टी२० लिग :