एसियन हाइड्रोपावर लिमिटेडको आईपीओ आउँदो आइतबार धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बिहान ९ बजे बाँडफाँड गरिने भएको छ ।
कम्पनीले गत माघ २७ गतेदेखि फागुन ३ गते सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो । जसमा १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको थियो ।
अब बाँकी रहेको सेयरमा पनि ५ प्रतिशतले हुन आउने ४२ हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १६ हजार ८०० कित्ता कर्मचारीलाई छुट्याएको थियो । बाँकी ६ लाख ९७ हजार २०० कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिएका छन् ।
यो आईपीओमा निष्कासको अन्तिम साँझ ५ बजेसम्म १३ लाख १८ हजार ७९८ आवेदकबाट १ करोड ४६ लाख ८१ हजार २० कित्ताका लागि खरिद आवेदन परेको छ । जुन मागभन्दा २१.०६ गुणाले बढी हो ।
मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसमा भाग्यमानी ६९ हजार ७२० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् ।
.jpg)


