प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन पुगेर आजै मन्त्रिपरिषद् विस्तार गरेर शपथ खुवाउने तयारी भइरहेको बताएका छन् ।
भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा लगभग सहमति भएको दाबि गर्दै आजै सरकार विस्तार हुने बताएका हुन् ।
उनले भने- 'यहाँबाट फर्किएलगत्तै बाँकी कुरा टुंग्याएर मन्त्रिपरिषद् विस्तार हुन्छ । आजै शपथ गराउने तयारी छ ।'
प्रधानमन्त्री प्रचण्ड आजै भरतपुरमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।
आज बिहान बसेको सत्ता गठबन्धनको बैठक छाडेर प्रधानमन्त्री प्रचण्ड आजै बालुवाटारबाटै हेलिकोप्टरमार्फत चितवन पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड चितवन गएपछि दलहरु अहिले आन्तरिक छलफलमा छन् भने गठबन्धनको बैठक २ बजेपछि फेरी बस्ने बताइएको छ ।
.jpg)


