नबिल बैंकको सहकार्यमा तेह्रथुम जिल्लाको छथर गाउँपालिकाका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिइएको छ । राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकको त्रिपक्षीय सहकार्यमा एक साता लामो तालिम प्रदान गरिएको नबिल बैंकले जनाएको छ ।
२०८० वैशाख १० गतेदेखि १६ गतेसम्म चलेको सो तालिमबाट स्थानीय युवा, महिला, विपन्न वर्ग तथा उद्यमी बन्न इच्छुक स्थानीय व्यक्तिहरू लाभान्वित भएको बैंकले जनाएको छ । बैंकका अनुसार उद्यम गर्न सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याई देशभित्रै उद्यम प्रवर्द्धन तथा रोजगारी सिर्जनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्यका साथ यो तालिम दिइएको हो। नबिल दिगो बैंकिङ अवधारणाअनुरूप सामाजिक उत्तरदायित्व वहन गर्दै नबिल बैंकले यस कार्यक्रममा आफ्नो आबद्धता जनाएको हो।
कार्यक्रममा छथर गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुखलगायत नबिल बैंकका कोशी क्लस्टर प्रमुख तोपप्रसाद अगस्ती र छथर शाखा प्रमुख कृष्णकुमार साहको उपस्थिति थियो। उक्त सातदिने तालिम कार्यक्रममा ५७ स्थानीय उद्यमीहरू सहभागी थिए ।
नबिल बैंकका एसएमई, लघुवित्त तथा दिगो बैंकिङ प्रमुख निरजकुमार बस्नेत डनिलले उद्यमी बन्न चाहनेका लागि उद्यमशीलतामा क्षमता वृद्धि तथा वित्तीय साक्षरताका लागि यो तालिम सहयोगी हुनुका साथै उद्यमशीलता विकास र स्वरोजगार प्रवर्द्धनमा नबिल बैंकको सधैँ साथ रहने बताए ।
.jpg)


