काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले जनभावना अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बताएका छन् ।
पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले जनताको म्यान्डेट अनुसार आफुहरुले प्रतिपक्षमा बस्ने निर्णय गरेको बताए ।
सभापति लामिछानेले भने- हामीले जनभावना र जनमतको कदर गर्नुपर्ने हुन्छ। यस पटकको उपनिर्वाचनले हामीलाई दिएको म्यान्डेट र अधिकांश हाम्रा शुभचिन्तक देशैभरी र संसारभरि रहेका नेपालीहरुको भावना नै सशक्त प्रतिपक्षको भूमिका निर्माण गर्नुपर्ने र पार्टी संगठन अझ चुस्त बनाउनुपर्ने म्यान्डेट रहेकाले त्यहि अनुसार नै अगाडी बढ्छौं ।
उनले आफुहरुले अब संगठन निर्माण गर्न लाग्ने र रचनात्मक प्रतिपक्ष कस्तो हुन्छ भन्ने देखाउने बताए ।
सभापति लामिछानेले यस कार्यकालमा सरकार बनाउने र ढाल्ने खेलमा नलाग्ने बताउदै जनताले दिएको म्यान्डेट बुझेर काम गर्ने बताए ।
शुक्रबार बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।
रास्वपाले भ्रष्टाचारको फाइल खोल्ने र सुशासनको विषय गठबन्धनको न्युनतम साझा कार्यक्रमबाट हटाएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
यसअघि सरकारबाट फिर्ता भए पनि विश्वासको मत दिएर सरकारलाई समर्थन गरेको थियो भने राष्ट्रपति निर्वाचनमा पनि सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गरेको थियो ।
.jpg)


