काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर अपराह्न ४ बजेका लागि सारिएको थियो ।
तर शीर्ष नेताहरूबीच सहमति जुट्न नसकेपछि बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।
संघीय संसद सचिवालयले सूचना टाँस गरेर मंगलबार अपराह्न ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएको छ ।
प्रमुख प्रतिपक्षी एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने अडानमा कायम रहेको छ ।
सभामुख देवराज घिमिरेको कार्यकक्षमा आज दुई पटकसम्म छलफल भएपनि सहमति हुन सकेन ।
आजको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी थिए ।
.jpg)


