काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक सकिएको छ।
समसामयिक राजनीतिक विषयमा चासो राख्दै राष्ट्रपति पौडेलले दलका नेताहरूलाई शीतल निवास बोलाएको बैठक करिब ४५ मिनेटसम्म चलेको थियो।
राष्ट्रपति पौडेलले राष्ट्रिय मान्यता प्राप्त सबै दललाई बैठकमा बोलाए पनि प्रमुख प्रतिपक्ष नेकपा एमाले भने सहभागी भएन। बैठकमा सत्तारुढ दलसहित प्रतिपक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीलगायत सहभागी भएका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका शीर्ष नेताहरुको उपस्थिति थियो।
बैठकमा संसद् अवरोध खुलाउन भइरहेको प्रयासबारे राष्ट्रपतिसमक्ष जानकारी लिने/दिने काम भएको नेताहरुले जनाएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुनको छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै नेकपा एमालेले साउन १० देखि निरन्तर संसद अवरोध गरेपछि राष्ट्रपितले चासो देखाएका हुन्। यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुसँग छलफल गरेका थिए।
सोमबार राति सिंहदरबारमा दलहरुको बैठकमा सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमति जुटिसकेकाले यसबारे राष्ट्रपतिलाई जानकारी गराइएको नेताहरुले जनाएका छन्। उच्चस्तरीय छानबिन समिति गठनमा सहमति जुटेकाले आजदेखि संसदको अवरोध भने हट्ने भएको छ।
दलहरुले सुन तस्करी प्रकरणको छानबिनको कार्यविधि बनाउन एक कार्यदल बनाएका छन् र कार्यदलले आजैदेखि काम शुरु गर्ने बताइएको छ।
.jpg)


