सोमबार, कार्तिक १७ गते २०८३
images
images

मुक्तिनाथ मन्दिर आजदेखि भक्तजनको लागि खुल्ला

एक्सप्रेस पाना
आश्विन १०, २०७८ आइतबार
  • 472
    SHARES
  • मुक्तिनाथ मन्दिर आजदेखि भक्तजनको लागि खुल्ला

    असोज १० काठमाडौं । हिन्दु र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ ।

    images

    गत वैशाख महिनादेखि बन्द गरिइएको मन्दिर आजबाट खुलेको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको थियो । 

    मुक्तिनाथ विकास समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेका अनुसार मापदण्ड तोकेर बाहिरी जिल्लाका तीर्थयात्री र भक्तजनका लागि मुक्तिनाथ मन्दिरमा पूजाआजा खुलाइने छ ।

    images

    स्वदेशीका लागि पिसिआर, एन्टिजेन परीक्षणको रिपोर्ट वा कोरोनाविरुद्धको खोप लगाएकोमध्ये कुनै एक प्रमाणको आधारमा मुक्तिनाथमा प्रवेश दिने निर्णय भएको छ, उनले भने, विदेशीका लागि सात दिनभित्रको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ ।

    बडादसैँ र सोह्रश्राद्धमा कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजन आउने गर्छन् । कोरोना सङ्क्रमण फैलिएका कारण २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा गरिएको निषेधाज्ञा पाँच महिनापछि गत भदौ २३ गतेदेखि खुलाइएको थियो ।  

    १८ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र सङ्क्रमण दर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाएको प्रशासनलाई विश्वप्रसिद्ध मुक्तिनाथ मन्दिरमा पनि खुलाउन दबाब परेको थियो ।

    निषेधाज्ञा र मुक्तिनाथ खुलेसँगै निषेधाज्ञाले सुस्ताएका मुस्ताङका होटल र पर्यटन व्यवसाय चलायमान, जनजीवन सहज र विकास निर्माणले गति लिने अपेक्षा गरिएको छ ।

    मुक्तिनाथ र पर्यटकीयस्थल खुलाएपछि सडक र हवाईमार्ग भएर मुस्ताङ जानेहरुको चहलपहल बढेको छ । कोरानाका कारण मुक्तिनाथ मन्दिर नजिकैको रानीपौवाका सातसहित मुस्ताङमा १५ जनाले ज्यान गुमाएका थिए ।