काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्ने र व्यवसायीकरण गर्नेगरी अघि बढ्न जरुरी रहेको बताएकी छन् ।
मंगलवार एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले जलवायु परिवर्तनको प्रभाव कृषि क्षैत्रमा परेको भन्दै आगामी दिनमा जलवायुजन्य विपद्बाट बच्ने गरी अघि बढ्न जरुरी रहेको बताइन् ।
उनले देश निर्माणका लागि सबै मिलेर लाग्नुपर्ने पनि बताउदै सरकार र जनतासँग प्रत्यक्ष जोडिने कृषिजन्य कार्यक्रम ल्याउन आवश्यक रहेको बताइन् ।
उनले भनिन् ‘हामी नेपालमा अण्डा, मासु, दुध, दहीमा आत्मनिर्भरतिरै छौँ । धानमा पनि आत्मनिर्भर हुने कोशिसमा छौँ । दुई लाख हेक्टर अझै जग्गा बाँझो छ । त्यसलाई आत्मनिर्भर बनाउनेतिर छौँ । चैते धानलाई प्रोत्साहन गर्नेतिर छौँ । उत्पादन गरिसकेपछि बजारीकरणको समस्या छ, त्यसलाई पनि समाधान गर्नेगरी हामी अघि बढ्दैछौँ । हामीले कृषिमा आधुनिकीकरण गर्ने र व्यवसायीकरण गर्नेगरी अघि बढ्न जरुरी छ । जलवायु परिवर्तनको कुरा पनि छ । यसले पनि कृषिमा असर पुगिरहेको छ । यस्तै अवस्था भइरहे पैसा भएपनि २० वर्षपछि खानसक्ने अवस्था रहँदैन । यसलाई दीर्घकालीन समाधान गर्नेगरी प्राविधिक टिम खटाएर काम गर्नुपर्छ ।’
मन्त्री साहले तीन सरकारको समन्वय गरेर कृषि क्षेत्रको विकास गर्न जरुरी रहेको बताइन् ।


