काठमाडौं । चलचित्र ‘कार्साङ’को छायांकन चलिरहेको बेला सेटबाट निर्माण टिमले पोस्टर सार्वजानिक गरेको छ । सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राइको क्यारेक्टर लुक्सलाई देखाइएको हो ।
सर्टमाथि ऊनको हाफ स्वीटर लगाएका उनको शिरमा टोपी देखिन्छ भने नजिकैमा ढ्याङ्ग्रो छ । उनको साथमा अभिनेत्री सृजना निङ्लेखु पनि देखिएकी छन् ।
चलचित्रमा उनले शेर्पा समुदायको पात्रमा अभिनय गरेका छन् । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्रको दुई सातादेखि सिन्धुपाल्चोक आसपासको क्षेत्रमा छायांकन भइरहेको छ । दुई दिनभित्रमा सम्पूर्ण छायांकन सकिने जानकारी प्राप्त छ । दुईवटा क्यामेरा प्रयोग गरेर ‘कार्साङ’ खिचिएको छ ।
दयाहाङ र सृजनासहित चलचित्रमा जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, छुकी शेर्पा, राशी लिम्बू, सोहन थापा, कर्मा शेर्पा, एसएली लिम्बू, छोकी शेर्पा, सृष्टि ढुंगाना आदिको पनि अभिनय रहेको छ । पुरुषोत्तम प्रधान निर्माता रहेको चलचित्रलाई उनले नै छायांकन गरिरहेका छन् ।


