काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रवि लामिछानेलाई मध्यरातमा चितवनबाट अमानवीय तरिकाले पोखरा लगिएको भन्दै आपत्ति प्रकट गरेको छ ।
शुक्रबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै सरकारको प्रत्यक्ष निर्देशनमा यस्तो गरिएको बताएका छन् ।
जारी विज्ञप्तिमा भनिएको छ,"सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराइ राति सुतिरहेको बेलामा अचानक उठाइ मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइको रहेछ। यो आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचना प्रहरी सुत्रबाट प्राप्त भएका छन्,।"
रास्वपाले सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल भएको उल्लेख गरेको छ । यसैबीच सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको पनि बताइएको छ ।
“सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल हो । यसैबीच सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको छ ।”विज्ञप्तिमा भनिएको छ ।
रास्वपाले उक्त घटनालाई नजिकबाट नियाल्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघ संस्थाको गम्भीर ध्यानाकर्षण गराएको छ ।
हामी यसको घोर भर्त्सना गर्दछौं, "सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन् गरेको छ। यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्नेछ। यसतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवं सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकारकर्मी तथा मानवअधिकारवादी संघ संस्थाहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं,"



