काठमाडौं । ओडिसास्थित कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी(केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीको अवस्था बुझ्न र सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकारी पुगेका छन् ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीको अवस्था बुझ्ने र उनिहरुको सुरक्षा व्यवस्था मिलाउन दुई जना नेपाल प्रहरीका पुगेको जानकारी गराएकी हुन् ।
उनले केआईआईटीको होस्टलमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको विषयमा निरन्तर फलोअप गरिरहेको बताइन् ।
उनले लेखेकी छन्,"भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई हामीले निरन्तर रुपमा फलोअप गरिरहेका छौँ । नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूताबास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुइजना बरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुग्नुभएको छ । मैले उहाँहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएकी छु। यस विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेकै छ । हिजोको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको छ भने नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने स्टाफलाई कारबाही गरिसकिएको जानकारी पनि विश्वविद्यालयले सार्वजनिक सूचना मार्फत गराएको छ। यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन्।"


