काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग सहकार्य एमालेभित्रको फोहोर सफा गर्न गरेको बताएका छन् ।
मंगलबार काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले एमालेभित्रको फोहोर सफा गर्न सहकार्य गरेको बताएका हुन् । उनले एमालेसंग मिसिन भने नगएको दाबी गरे ।
उनले भने,‘यत्ति कुरामा विश्वास गर्नुस् फोहोर सफा गर्न पोखरीमा छिरेका छौं । त्यसैले बाहिरबाट हेर्दा फोहोरै देखिन्छ । ‘तर, हामी मिसिन गएको होइन । सफा गर्न गएको हो । हामी मिसिदैनौं । त्यसकै अंग बन्न गएकै होइन ।’
उनले दुई ठूला पार्टी मिलेर सरकार बनाइसकेपछि संविधानमा केही कुराहरु बदलाव ल्याउने कुरा तुरुन्त प्रारम्भ हुन्छ भन्ने आशा भएपनि त्यो पूरा हुन नसकेको बताए ।
उनले भने, ‘कांग्रेसले भरोसा दिन सकेको छैन् । नेकपा एमालेसँग मिलेर सरकारमा गयौं । एमालेसँग मिलेर सरकार गएपछि के ठानेका थियौं भने दुई ठूला पार्टी मिलेर सरकार बनाइसकेपछि संविधानका पनि केही कुराहरुमा बदलाव ल्याउने कुरा तुरुन्त काम प्रारम्भ गर्छौं । खागरी गभर्नेन्समा व्यापक सुधार गर्छौं भन्ने थियो । त्यो पनि ढिला भएको छ ।’
त्यस्तै उनले २०६० देखि ७० सालसम्मको दश वर्ष माओवादी हिंसाले सृजना गरेको परिणामहरुको व्यवस्थापन गर्दै दश वर्ष वितेको बताए । अब मुख्य रुपमा काम गर्ने बेलामा आइसकेपछि पनि धेरै ठूलो अलमलको अवस्था सृजना भइरहेको उनको भनाई छ ।
उनले भने,‘यो २०६० देखि ७० सालसम्मको दश वर्ष माओवादी हिंसाले सृजना गरेका जतिपनि परिणामहरु रहे त्यसको व्यवस्थापन गर्दै दश वर्ष वित्यो । अब दौडने बेला भयो । संविधान पनि बन्यो सिस्टम पनि बन्यो । त्यहाँभित्र पनि समस्या त छन् त्यसलाई सम्बोधन गर्ने सच्याउने कुरा त छँदै छ । अब मुख्य रुपमा काम गर्ने बेलामा आइसकेपछि चाँही धेरै ठूलो अलमलको अवस्था सृजना भइरहेको छ ।’


