काठमाडौं । भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलाबाट एक जना नेपालीसहित २८ जनाको ज्यान गएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार मङ्गलबार अपराह्न भएको उक्त आक्रमणमा अन्य १० जना घाइते भएका छन् ।
ज्यान गुमाउने नेपाली नागरिक वुटवल–११, कालिकानगर रुपन्देहीका सुदिप न्यौपाने रहेको पुष्टि गरिएको छ । सुदिपले घुमाउन आमालाई पनि आफुसंगै लिएर गएका थिए । आमा भने घाइते छिन् ।
उक्त घटनाप्रति परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सरकार स्तब्ध एवम् दुःखी भएको बताएकी छिन् ।
सामाजिक सञ्जालमार्फत उनले दुःख व्यक्त गर्दै उनले निर्दोष व्यक्तिहरूको ज्यान लिने विवेकहीन हिंसाको कडा शब्दमा निन्दा गरेकी छिन् । परराष्ट्रमन्त्रीले दुःखको यो कठिन समयमा पीडितहरू र उनीहरूका परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गरेकी छिन् ।

.jpg)


