काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जामा २५ करोडको सीमा हटाएसँगै नेप्सेमा वृद्धि भएको छ ।
राष्ट्र बैंकले उक्त सीमा हटाएसँगै लगानीकर्ताहरु उत्साहित हुँदा नियमित बजार खुलेको ३ मिनेटमा नै ४ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको थियो । त्यसपछि सर्किट लागेर २० मिनेट कारोबार रोकिएपश्चात खुलेको बजार आज बढेर बन्द भएको हो ।
आज बजार २२.५९ अंकले बढेर २५८२.१८ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार बढे पनि बिहिबार कारोबार रकम भने सामान्य घटेको छ । बुधबार ५ अर्ब ७६ करोडको कारोबार भएको बजारमा बिहिबार ५ अर्ब २७ करोडको कारोबार भएको थियो ।
त्यसैगरी आज २०० कम्पनीको सेयर मुल्य बढेको छ भने ४१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १० कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


