काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार २७.६४ अंकले घटेर २५९५.२४ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बजार घटेसंगै मंगलबार कारोबार रकम पनि घटेको छ । सोमबार ६ अर्ब ५ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब १५ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ३३ कम्पनीको सेयर मुल्य बढेको छ भने २१३ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ३ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।
आजदेखि कारोबारमा आएको माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस कम्पनीको शेयरमूल्य यस दिन प्रतिकित्ता ३१.७० रुपैयाँले बढेर ३४९.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस दिन फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यस कम्पनीको शेयर मूल्य यसदिन प्रतिकित्ता ८० रुपैयाँले बढेर ९५० रुपैयाँमा कारोबार भएको छ ।
यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर मूल्य सबैभन्दा धेरै २७ करोड रुपैयाँबराबरको कारोबार भएको छ । त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको करिब साढे २२ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ ।


