बुधबार, भाद्र २४ गते २०८३
images

जेलेन्स्कीले शान्ति प्रस्ताव नपढेकामा ट्रम्पको असन्तुष्टि,युक्रेन वार्ता अनिश्चिततामा

एक्सप्रेस पाना
मंसिर २२, २०८२ सोमबार
  • 123
    SHARES
  • जेलेन्स्कीले शान्ति प्रस्ताव नपढेकामा ट्रम्पको असन्तुष्टि,युक्रेन वार्ता अनिश्चिततामा

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको शान्ति प्रस्ताव युक्रेनी राष्ट्रिपति भलोडिमिर जेलेन्स्कीले नपढेको बताएपछि ट्रम्पले आफु निराश भएको बताएका छन् ।

    images

    आइतबार ट्रम्प र फस्र्ट लेडी केनेडी सेन्टरको रातो कार्पेटमा उपस्थित भएको बेला प्रशासनको युक्रेन शान्ति पहलसम्बन्धी दृष्टिकोणबारे पत्रकारहरुले सोधेको प्रश्नमा ट्रम्पले भने, ‘म अलिकति निराश छु कि राष्ट्रपति जेलेन्स्कीले शान्ति प्रस्ताव अझै हेरेका छैनन ।’ ट्रम्पले कियिभको कूटनीतिक पहलप्रति समेत असन्तुष्टि झल्काएका छन् ।

    यहीबीच, ट्रम्पका जेठा छोराले युक्रेनभित्रका उच्च पदस्थ व्यक्तिहरूमाथिको निरन्तर बढ्दो भ्रष्टाचारका आरोपबीच राष्ट्रपति ट्रम्पले युक्रेन शान्ति वार्ताबाट पछि हट्न सक्ने संकेत देखिएको बताएका छन् । दोहा फोरममा बोल्दै डोनाल्ड ट्रम्प जुनियरले युक्रेनलाई रूसभन्दा धेरै भ्रष्ट देश र राष्ट्रपति जेलेन्स्कीलाई असाधारण मार्केटरको रूपमा वर्णन गरे ।

    images

    उनलाई पिता ट्रम्पले शान्ति वार्ता छोड्न सक्छन् कि भनेर सोधिँदा ट्रम्प जुनियरले ‘मलाई लाग्छ, सक्छ’ भने । यद्यपि उनले यो आफ्नो व्यक्तिगत धारणा मात्रै भएको भन्दै हालका वार्तामा आफू सक्रिय नभएको प्रष्ट पारेका छन् ।

    युक्रेनमा दीर्घकालदेखि रहेको भ्रष्टाचारको चुनौती हाल फेरि चर्चामा आएको छ । राष्ट्रपति जेलेन्स्कीका प्रमुख सहयोगी एन्ड्री यर्माकको घरमा नोभेम्बरमा भ्रष्टाचारविरोधी निकायले छापा मारेपछि उनले राजीनामा दिएका थिए, जसले युक्रेनी राजनीतिक प्रणालीभित्रको अस्थिरता पुनः उजागर गरेको छ ।

    कूटनीतिक पहलको अवस्थाबारे जानकारी दिंदै राष्ट्रपति जेलेन्स्कीले अमेरिकासँगको शान्ति वार्ता रचनात्मक तर सजिलो नभएको बताए । उनले शनिबार राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जारेड कुशनरसँग फोनमार्फत कुराकानी गरेका थिए ।

    ‘अमेरिकी प्रतिनिधिहरूले युक्रेनका आधारभूत मागहरू राम्रोसँग बुझ्छन,’ जेलेन्स्कीले भने । उनले लन्डनमा फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन, तथा जर्मन चान्सलर फ्रेडरिक मर्जसँग हुने महत्त्वपूर्ण बैठकअघि यस्तो टिप्पणी गरेका हुन् ।

    यही क्रममा, क्रेमलिनले ट्रम्प प्रशासनको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिलाई आफ्नो दृष्टिकोणसँग मिल्दोजुल्दो भएको भन्दै स्वागत गरेको छ । उक्त रणनीतिले युरोप सभ्यतागत खतरामा रहेको चेतावनी दिंदै अमेरिका–रूसबीच रणनीतिक स्थिरता पुनःस्थापित गर्ने लक्ष्य भएको उल्लेख गर्छ ।

    त्यस्तै, ट्रम्पका अवकाश आउन लागेका युक्रेन दूतले पनि शान्ति सम्झौता धेरै नजिक पुगेको दाबी गरेका छन् । उनका अनुसार समझौता अब मुख्यतया दुई विषय—डोनबास क्षेत्रको भविष्य र जापोरिज्झिया आणविक ऊर्जा केन्द्र—समाधान हुन बाँकी रहेको छ । एएनआई

  • सम्बन्धित विषय:

  • # डोनाल्ड ट्रम्प