सोमबार, भाद्र २९ गते २०८३
images

इमरान खानमाथि ‘मनोवैज्ञानिक यातना’ को आरोप,अदियाला जेल बाहिर विरोध प्रदर्शन

एक्सप्रेस पाना
मंसिर २४, २०८२ बुधबार
  • 112
    SHARES
  • इमरान खानमाथि ‘मनोवैज्ञानिक यातना’ को आरोप,अदियाला जेल बाहिर विरोध प्रदर्शन

    काठमाडौं । पूर्व पाकिस्तानी प्रधानमन्त्री तथा पीटीआई संस्थापक इमरान खानको स्वास्थ्य र उनीमाथिको व्यवहारबारे परिवार र समर्थकहरूको चिन्ता बढ़्दै गएपछि सोमबार अदियाला जेल बाहिर प्रदर्शन गरिएको छ । 

    images

    इमरान खानकी बहिनी अलीमा खानले जेल प्रशासनले उनीमाथी अमानवीय व्यवहार गरेको आरोप लगाकी छन् ।

    अदियाला जेल बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै अलीमाले भनिन,“हामी ८ महिनादेखि हरेक मंगलबार यहाँ आइरहेका छौं । तर हामीलाई इमरान खानलाई भेट्न दिइँदैन । उनीमाथि अत्याचार भइरहेको छ । उनलाई अवैध रूपमा एक्लै थुनिएको छ । यो यातनालाई तत्काल अन्त्य गर्नु पर्छ ।” उनका अनुसार परिवारका बारम्बारका निवेदन पनि अस्वीकार भइरहेका छन् ।

    images

    इमरान खानमाथिको व्यवहारबारे चिन्ता व्यक्त गर्दै ठूला संख्यामा पीटीआई कार्यकर्ता प्रदर्शनमा सहभागी भए । खान विभिन्न मुद्दाहरूमा सजायपछि अदियाला जेलमा बन्दी छन् । प्रदर्शनको क्रममा कडा सुरक्षा व्यवस्था गरिएको थियो ।

    स्थिति झनै चर्किएको थियो जब पीटीआईका वरिष्ठ नेताहरू—महासचिव सलमान अकबर राजा र खैबर पख्तूनख्वाका प्रान्तीय प्रमुख जुनैद अखबर खान—पनि धर्नामा सहभागी भए । उनीहरूले अदालतले मंगलबार र बिहीबार भेट गर्न अनुमति दिए पनि जेल प्रशासनले लगातार भेट अवरुद्ध गरिरहेको आरोप लगाए ।

    गत डिसेम्बर २ मा करिब एक महिनापछि इमरान खानको बहिनी उज्मा खानुमलाई २० मिनेटको भेट छुट दिएपछि परिवारको चिन्ता थप बढेको थियो । भेटपछि उज्माले इमरान खान शारीरिक रूपमा ठीक देखिए पनि “मनोवैज्ञानिक यातना” को सामना गरिरहेको बताएकी थिइन् । उनका अनुसार इमरान खानले यो “मानसिक यातना” को दोष पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल आसिम मुनीरलाई दिएका थिए ।

    पाकिस्तान सेनाले यी आरोप कडाइका साथ अस्वीकार गर्दै इमरान खानलाई “मानसिक रूपमा अस्थिर र आत्मकेन्द्रित” भएको आरोप लगाएको छ ।

    यस घटनापछि सरकारले उज्मा खानुमसहित परिवारका अन्य सदस्यहरूलाई पनि भविष्यमा भेटघाटमा रोक लगाएको छ। कानून मन्त्री आजम नजीर तारारले भने, “जेल नियममा राजनीतिक छलफलको कुनै ठाउँ छैन, तर राजनीतिक कुराकानी भएको रिपोर्ट आएपछि उज्मा खानको भेटघाट बन्द गरिएको हो । अब त्यस्तो भेट हुने छैन ।”

    इमरान खानको जेलभित्रको अवस्थाबारे अनिश्चितता बढेसँगै पीटीआई समर्थक र सरकारबीचको तनाब झनै गहिरिँदै गएको छ ।

  • सम्बन्धित विषय:

  • # इमरान खान