काठमाडौं । रुस–युक्रेन युद्ध जारी रहेका बेला युक्रेनी राजधानी किएभमा रुसी ड्रोन आक्रमणबाट चार जना घाइते भएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार सामाजिक सञ्जालमार्फत किएभको एक अपार्टमेन्ट भवनमा रुसी ड्रोन ठोक्किँदा चार जना घाइते भएको बताएका हुन् ।
जेलेन्स्कीका अनुसार घटनापछि उद्धारकर्मीले तत्काल उद्धार तथा आगो नियन्त्रणको काम गरेका थिए । रुसी आक्रमणबाट ओडेसा क्षेत्रमा मोल्डोभासँग जोडिएको अन्तर्राष्ट्रिय स्टारोकोजाचे सीमा नाका पनि प्रभावित भएको उनले बताएका छन् । आक्रमणपछि उक्त सीमा नाकाको सञ्चालन स्थगित गरिएको छ ।
सीमा नाकामा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको तथा तीन जना घाइते भएको जेलेन्स्कीले जानकारी दिएका छन् । उद्धारकर्मीले १६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको उनले बताए ।
उनका अनुसार रुसी आक्रमणपछि ड्निप्रो, माइकोलाइभ, जापोरिज्जिया, खार्किभ, झिटोमिर र किएभ क्षेत्रमा क्षतिको विवरण संकलन तथा उद्धार कार्य भइरहेको छ । जेलेन्स्कीले रुसी आक्रमणप्रति अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया पर्याप्त नभएको आरोप लगाएका छन् । उनले दैनिकजसो मानिसको ज्यान जाने गरी भइरहेको आक्रमण रोक्न प्रभावकारी अन्तर्राष्ट्रिय कदम आवश्यक रहेको बताए ।
‘मस्कोले क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेर पनि कुनै परिणाम भोग्नुपर्दैन भन्ने विश्वासका साथ जाडो मौसममा प्रवेश गर्नु हुँदैन,’ जेलेन्स्कीले भनेका छन् । रुसमाथिका प्रतिबन्ध र युक्रेनलाई प्रदान गरिने सहयोग प्रभावकारी रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ ।
यसैबीच, जेलेन्स्कीले सेप्टेम्बर ७ मा रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासमा क्षेत्रीय विवाद महत्वपूर्ण विषय रहेको बताएका थिए । किएभमा अमेरिकी विशेष दूत स्टिभ विटकफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरसँगको भेटपछि उनले वार्ताका केही जटिल विषय राष्ट्रिय नेताहरूको तहबाट मात्रै समाधान हुन सक्ने बताएका थिए ।
जेलेन्स्कीले अमेरिकी प्रतिनिधिमण्डलसँग तीन चरणमा छलफल भइसकेको र ती छलफल सार्थक रहेको दाबी गरेका छन् । उनले वार्ताले पुनः कूटनीतिक प्रक्रिया अघि बढाउन तथा दीर्घकालीन शान्ति सम्झौताको वातावरण बनाउन सहयोग पुग्ने आशा व्यक्त गरेका छन् ।
उता, रुसी राष्ट्रपतिको कार्यालय (क्रेमलिन)का प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी राष्ट्रपति ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्यका लागि गरिरहेको प्रयासको स्वागत गरेको बताएका छन् । पेस्कोभले रुसले युद्ध चाहेको नभई पहिले सुरु भएको द्वन्द्व अन्त्य गर्न खोजिरहेको दाबी गरे । उनका अनुसार मस्कोको उद्देश्य युद्ध रोक्नु रहेको छ । तर, रुसले पुनः क्षेप्यास्त्र तथा ड्रोन आक्रमण तीव्र पारेपछि तत्कालै रुस–युक्रेन युद्ध अन्त्य हुने सम्भावना अझै टाढा देखिएको छ । एएनआई


