काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य सुधार आएको छ । आज बजार ६.७४ अंकले बढेर २६०१ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
सोमबार बजार बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार ४ अर्बको कारोबार भएको बजारमा सोमबार ३ अर्ब ४४ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १५५ कम्पनीको सेयर मुल्य बढेको छ भने ९४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १० कम्पनकिो सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।
यस दिन सेन्सेटिभ इण्डेक्स २.०१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंकले उकालो लागेको छ ।
सोमबार दुई कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयर मूल्य अधिकतम वृद्धि हुँदै सकारात्मक सर्किटमा पुगेको हो । त्यस्तै, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयर मूल्य साढे ८ प्रतिशतभन्दा बढीले बढेको छ ।
घट्ने स्टकतर्फ हिमस्टार उर्जा कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ६.९५ प्रतिशतले घटेको छ भने अन्य घट्ने स्टकहरूको मूल्य गिरावट ४.५ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १४ करोड २५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यसैगरी लक्ष्मी सनराइज बैंकको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ भने नेपाल एसबिआई बैंकको करिब साढे १३ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये सोमबार ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । यस दिन वित्त उपसमूह करिब १ प्रतिशतले बढेको छ । यद्यपि होटल तथा पर्यटन, लगानी, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ ।


