आइतबार, भाद्र २८ गते २०८३
images

बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन,पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

एक्सप्रेस पाना
पौष ६, २०८२ आइतबार
  • 150
    SHARES
  • बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन,पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

    काठमाडौं । बंगलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरिएको घटनाको विरोधमा सिरहामा प्रदर्शन गरिएको छ ।

    images

    बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाको विरोधस्वरूप सिरहाका हिन्दु धर्मावलम्बीहरू सडकमा उत्रिएका हुन् ।

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको चोहर्वामा रहेको गणपति पेट्रोल पम्प अगाडि प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण केही समयका लागि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

    images

    राजमार्ग अवरुद्ध हुँदा दुवै दिशातर्फका सवारी साधनहरू सडकमै रोकिएका छन् भने यात्रुहरू गन्तव्यमा पुग्न नसकी समस्यामा परेका छन्। प्रदर्शनकारीहरूले बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाप्रति गम्भीर ध्यानाकर्षण गराउन तथा दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

    प्रदर्शनस्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीले प्रदर्शनकारीसँग संवाद गरी अवस्था सामान्य बनाउने प्रयास भइरहेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बंगलादेश घटना