काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य सुधार आएको छ । आज बजार ३.२७ अंकले बढेर २५८४.४९ को विन्दुमा बन्द भएको नेप्सेले जनाएको छ ।
बजार बढेर बन्द भए पनी कारोबार रकम भने सामान्य घटेको छ । सोमबार ३ अर्ब ५२ करोडको कारोबार भएको बजारमा मंगलबार ३ अर्ब ४२ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १३४ कम्पनीको सेयर मुल्य बढेको छ भने ११७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।
यस दिन एसवाई प्यानल नेपालको शेयरमूल्य सवैभन्दा बढी ७.०१ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने सयपत्री हाइड्रोपावर र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ । यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ५.९७ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३० करोड ९८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, यस दिन सागर डिष्टिलरीको साढे ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
आज १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशत बढेको छ । बाँकी बढेका ६ उपसमूहहरुको वृद्धिदर सामान्य रहेको छ । यस दिन विकास बैंक, लगानी, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ ।


