आइतबार, भाद्र २८ गते २०८३
images

सिन्धुलीमा सुशीला बम्जनको हत्या प्रकरणले स्थिति तनावग्रस्त बन्दै

एक्सप्रेस पाना
पौष ११, २०८२ शुक्रबार
  • 160
    SHARES
  • सिन्धुलीमा सुशीला बम्जनको हत्या प्रकरणले स्थिति तनावग्रस्त बन्दै

    काठमाडौं । सिन्धुलीमा सासू र नन्द मिलेर पेट्रोल छर्की बुहारी सुशीला बम्जनको हत्या गरेको घटनापछि उत्पन्न तनाव थप अनियन्त्रित बन्दै गएको छ ।

    images

    तनाव नियन्त्रण बाहिर गएपछि सिन्धुलीमा कफ्र्यु लगाउनु पर्ने अवस्था आएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझबाट कफ्र्यु आदेश जारी गरे पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन ।

    घटनाबाट आक्रोशित स्थानीयले आरोपीको घरमा आगजनी गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको थियो । त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले बिहीबार साँझ ८ः३० बजेदेखि कफ्र्यु लगाएको हो ।

    images

    सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारकी ३२ वर्षीया सुशीला बम्जनलाई पुस ६ गते पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा ५० वर्षीया सासू मायारानी बम्जन र ३५ वर्षीया नन्द मिना लामा (बम्जन) लाई पुस ७ गते प्रहरीले गिरफ्तार गरेको थियो ।

    कमलामाई नगरपालिका–४ धुराबजारका ६२ वर्षीय दुर्गामान बम्जनको घरको भान्छा कोठामा पेट्रोल र मट्टितेल छर्केर सुशीलालाई आगो लगाइ हत्या गरिएको आरोप छ ।

    उक्त घटनापछि आक्रोशित स्थानीय सडकमा उत्रिएका छन् । उनीहरूले पीडकलाई कडा कारबाही हुनु पर्ने माग राखेका छन् । आक्रोशित भीडले बिहीबार आरोपीको घरमा आगजनीको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।

    अश्रुग्याँस प्रहारपछि भिड झनै उत्तेजित बनेर हुलदङ्गा मच्चाउन थालेपछि शान्ति सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएकोले स्थानीय प्रशासनले कफ्र्यु लगाएको हो ।

    स्थानीयले घटनालाई अमानवीय र निन्दनीय भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । प्रहरीले घटनामा संलग्न सासू र नन्दलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    photo_83a6301d.jpg

  • सम्बन्धित विषय:

  • # सुशीला बम्जन